माधवकुमार नेपालको आरोप : ‘ओलीको दलालहरुसँग साँठगाँठ छ’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ चैत्र ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता एमाले काठमाडौं जिल्ला कमिटीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीको दलाल पुँजीपति वर्गसँग साँठगाँठ रहेको आरोप लगाए ।

‘उहाँ नेपाली समाज अब समाजवादमा जानुपर्छ भन्ने कुरामा सहमती हुनुहुन्न । उहाँको (केपी शर्मा ओली) दलाल पुँजीपतिहरुसँग साँठगाँठ रहेको छ ।’ उनले भने ।

त्यस्तै ओलीले चलाइरहेको पार्टी नभएर गुटको संज्ञा दिएका छन् । ओलीले पार्टीलाई सानो गुटको मात्रै नेतृत्व गरिरहेको र त्यसका विरुद्ध आफूहरु देशव्यापी अभियानमा रहेको बताए ।

‘केपी ओलीको पार्टी पार्टी होइन् सानो भेला हो । केपी ओलीले नेतृत्व गरेको गुटको हामी विरुद्धमा छौँ । नेता नेपालले भने- ‘देशव्यापी हामीले त्यहि अभियान चलाएका छौँ ।’

नेता नेपालले आफूहरु लोकतान्त्रिक शक्तिहरुलाई एक बनाएर अगाडी बढाउन चाहेको बताए । अध्यक्ष ओलीले आफू निकटका मान्छेहरुलाई मात्रै पोस्न लागेको तर आफूहरु महिला तथा दलित साथै जनताको साथमा भएको दाबी गरे ।

अहिले पार्टीभित्र देखिएको समस्या नेताहरुको टक्करको रुपमा मात्रै नबुझ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

‘यो नेताहरुको टक्कर मात्रै नबुझ्नु्होला यो बिचारको ठूलो लडाई हो । यो पार्टीलाई मार्सवादको शिद्धान्तको आधारमा अघि बढाउने हो ।’ नेता नेपालले भने ।

नेता नेपालले मदन भण्डारीले ५ औँ महाधिवेशनमा भनेका कुराहरु स्मरण गर्दै समाजवादको बाटोमा जाने लागेको बताए ।

देशभरका कार्यकर्ताहरुमा उर्जा पैदा गर्नका लागि आफूहरुले राष्ट्रिय कार्यकर्ता भेला गरेको बताए । त्यस्तै पार्टी उपाध्यक्ष वामदेव गौतमसँग पनि सँगसँगै अगाडी बढ्ने र ओलीको विरुद्धमा लाग्ने बताए ।