काठमाडौं, २३ चैत्र ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउने व्यक्ति केपी शर्मा ओली नै भएको आरोप लगाएका छन् । निर्वाचन भएको तीन वर्ष पछि नेपालले यस्तो बताएका हुन् । नेकपा एमालेमा चरम गुटबन्दी हुँदै विभाजनको संघारमा आएको बेलामा नेता नेपालले गौतमलाई हराउन मुख्य भूमिका खेल्ने ब्यक्ति ओली भएको बताएका हुन् ।
काठमाडौंमा आफ्नो समूहको समानान्तर कमिटी गठन कार्यक्रममा उनले ओलीलाई यस्तो आरोप लगाए । उनले आफुलाई पनि ओलीले हराउन धेरै प्रयास गरेको भए पनि सफल नभएको बताएका छन् । तर गौतमलाई भने हराउन सफल भएको उनको भनाई छ । “केपी ओलीका मान्छेले मलाई काठमाडौं २ बाट हराउन खोजेका थिए, वामदेव कमरेडलाई पनि हराउन लाग्नुभयो । केपी ओली बदलाको भावनाले चल्ने पूर्वाग्रही व्यक्ति हुन् । हामी त्यस्तो पार्टी बनाउँदैनौँ ।”
उनले नेता गौतम आफूहरूको साथमा आउने दाबी गरेका छन् । शनिबार बानेश्वरस्थित बुद्धनगर पार्टी प्यालेसमा आयोजित काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् । नेता नेपालले नेता गौतम आफूहरूको साथमा आउने र केन्द्रीय कमिटी ९७ सदस्यीय हुने ठोकुवा गरेका छन् ।
“वामदेव र हामी एकै ठाउँमा उभिदैछौं,” उनले भने, “हामी केन्द्रीय कमिटीमा ९७ जना हुँदैछौं ।” ओलीले विगतदेखि नै चरम गुटवन्दी र जालझेल गर्दै आएको नेता नेपालको आरोप छ । ओलीले नेतृत्वको गरेको एमाले पार्टी नभएर गुट भएको उनको भनाइ छ ।
गत फागुन २८ गते पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठकबाट नेपाल पक्षका नेताको जिम्मेवारी खोसेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओलीले नेता नेपालसहित उनी पक्षीय ४ जना नेतालाई पार्टीबाट निलम्बन गरिसकेका छन् । नेपाल पक्षले समानन्तर गतिविधि गर्दै आएको छ ।