काठमाडौं, २२ चैत्र ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल पर्ने निर्णय गरेपछि देशको राजनीतिले कोल्टे फेरेको बताएका छन्।
शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले अब छिट्टै नयाँ सरकार बन्ने भन्दै ओलीबाद समाप्त हुन केहिदिन बाँकी रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ। म तपाईंहरु सबैलाई पनि बधाई भन्न चाहन्छु। सम्भवतः छिट्टै नयाँ सरकार बन्नेछ। नयाँ परिस्थिति बन्नेछ।
माओवादी केन्द्रले ओली सरकारलाई दिइआएको समर्थन आज फिर्ता लिने
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आज फिर्ता लिने भएको छ । समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ ।
माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भोलि समर्थन फिर्ता लिइने जानकारी दिए । उनले ऋषि धमलासँग भने,‘हामी भोलि नै स्थायी कमिटी बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिन्छौं ।’
माओवादी केन्द्रलाई सरकारलाई दिइआएको समर्थन फिर्ता लिन दबाब बढिरहँदा पुनले नयाँ खुलासा गरेका हुन् । नेपाली काँग्रेसले हिजै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय समेत मागेको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट परेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे ।
समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”, उनले भने, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि ।