माओवादीद्वारा सरकारको समर्थन फिर्ता लिने निर्णय हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ चैत्र ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज आइतबार ११.०० बजेपछि बस्ने स्थायी समितिको बैठकबाट समर्थन फिर्ता हुने सो पार्टीको एक उच्च स्रोतले बताएको छ ।

समर्थन फिर्ता लिने कुरो आइतबारसम्म निर्णय हुने जानकारी यसअघि नै सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका थिए । अन्य राजनैतिक शक्तिहरुको अस्थिर र ढुलमुले स्वभावका कारण समर्थन फिर्ताको विषयलाई ‘पर्ख र हेर’ गर्दै आएको माओवादी केन्द्र नेपाली काँग्रेसको औपचारिक निर्णयसँगै समर्थन फिर्ताको प्रक्रियामा पुगेको हो ।

अदालतमा समेत पुनरावलोकन नपाएको सो पार्टीले वर्तमान राज्यसत्ताको गम्भिर समिक्षा, ओलितन्त्रको सिंहावलोकन, पूर्व माओवादीहरु तथा नेकपा एमालेको एक समूहसँगको सम्भावित सहकार्य र एकता तथा आन्तरिक चुस्तताका विषयहरु स्थायी समितिमा प्रवेश हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्रले काँग्रेस र जसपासँग मिलेर ओलिको सर्वसत्तावादलाई परास्त गर्ने प्रष्ट रणनीति अख्तियार गरेको सो पार्टीले बताएको छ ।