माधव नेपाल समूहले घोषणा गर्यो दुई महिने कार्यक्रम: यसरी बन्दैछ संगठन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ चैत्र ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समूहले पार्टी पुनर्गठनको दुई महिने कार्यक्रम घोषणा गरेको छ । शनिबार बसेको नेपाल पक्षधर स्थायी कमिटी बैठकले ‘एमालेको एकता जोगाऔँ कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ नारासहित कार्यक्रम सार्वजनिक गरेको हो ।

नेता योगेश भट्टराईले निर्णय सार्वजनिक गर्दै पार्टी संगठन निर्माण र सुदृढीकरण तथा एमालेको एकता बचाउ गर्न विभिन्न कार्यक्रम घोषणा गरिएको जानकारी दिएका छन् । चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलामा प्राप्त भएका सुझावलाई समेटेर सुदृढीकरणको अवधारणापत्र तयार पारेको नेपाल समूहका नेताहरुले बताएका छन् । पार्टीमा विद्यमान अन्तरविरोध, संगठनात्मक पक्ष र कार्यशैलीको भिन्नताबारे कार्यकर्तालाई नेपाल समूहले प्रशिक्षण दिने तयारी गरेको जनाएको छ ।

बैशाख ९ गते राजधानीमा सभा गर्ने, १३ गते विराटनगरमा र जेठ ३ गते चितवनमा सभा गर्ने नेपाल समूहको तयारी छ । ९ गते एमाले स्थापना दिवसको अवसर, १३ गते मनमोहन स्मृति दिवस र ३ जेठ मदन(आश्रित स्मृति दिवसको अवसर परेको हुनाले यी मितिमा कार्यक्रम तय भएको पनि बताइएको छ ।