आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, पसलमा किन्नेहरुको भिड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ चैत ।

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुनको मूल्य तोलाको ८६ हजार थियो । तेजाबी सुनको मूल्य तोलामा पनि चार सय रुपैयाँले घटेर ८५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

आज नेप्से ४३ अङ्कभन्दा धेरैले बढ्यो

बुधबार शेयर बजार परिसूचक नेप्से ४३ अङ्कभन्दा धेरैले बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४३ दशमलव ३६ अङ्कले बढेर २६ सय १९ दशमलव शून्य दुई विन्दुमा पुगेको छ ।

बुधबार बैंकिङ समूहको शेयर झण्डै ४१ अङ्कले बढेको छ । यस्तै विकास बैंकको ४३ अङ्कले, होटल र पर्यटनको ६३ अङ्कले, जलविद्युतको ३५, फाइनान्सको नौ, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको एक सय ६८, निर्जीवन बीमा समूहको तीन सय ४९, उत्पादनको ३१, अन्यको २५ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बुधबार दुई सय नौ कम्पनीका एक करोड १२ लाख २८ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट विकास बैंकको ३६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

बुधबार पाँच कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रैराङ र युनाइटेड मर्दी हाइड्रो तथा बोटलर्स नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ । बुधबार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टीएमएसमा समस्या देखिएकाले दिउँसो चार बजेसम्म कारोबार अवधि बढाइएको थियो ।