अभिनेत्री सरिता लामिछाने : जति भन्यो त्यति आँसु झार्न सक्छु..

हाम्रो सन्देश संवाददाता

हाम्रो घरमा एउटा ब्ल्याक एन्ड ह्वाइट टिभी थियो, ब्याट्रीबाट चल्थ्यो, बिजुली थिएन । गाउँमा पहिलोपटक टिभी राख्ने पनि हाम्रै परिवार हो । आमाले मलाई पहिलोपटक टिभीमा मुक्ति सिरियलमा हेर्नुभयो, झापा सुरुंगामै ।

०५७/५८ सालतिर नेपाल टेलिभिजनबाट मुक्ति आउँथ्यो, मंगलबार । म मुक्तिमा खेलेको कुरा परिवारलाई थाहा थियो । मेरो भाइले दुई–चार दिन अघिदेखि नै मंगलबारका लागि ब्याट्री चार्ज गरेर राख्थ्यो रे । गाउँभरिका मान्छे जुटेर मुक्ति हेर्थे रे ।

पछि मेरी आमा काठमाडौं आउनुभयो । आएको दिन मलाई धेरैबेर अनुहारमा हेर्नुभएको थियो । ‘आमा, के भयो ?’ भनेर सोधेँ, केही बोल्नुभएन । मैले बुझेँ– छोरीलाई गाउँमै टिभीमा हेर्न पाएकोमा उहाँलाई हर्ष थियो ।
गहना सिरियल चल्दै थियो । त्यतिबेला आमा उपचारका लागि काठमाडौं आउनुभएको थियो । उता गाउँमा छिमेकी महिलाहरुले कुरा गर्दै थिए रे, एउटीले भनिछन्, ‘पाण्डेनी किन काठमाडौं गइन् भन्ने मैले पत्ता लगाएँ नि !’ मेरी आमाको नाम मीरा पाण्डे, गाउँमा सबैले पाण्डेनी भन्थे ।
‘किन त ?’ अर्कीले सोधिछन् ।

‘छोरी जेल परिछे, त्यही भएर, छोरीलाई भेट्न गाकी रैछन् ।’
गहना सिरियलमा म जेल पर्ने कथा पनि छ । उनीहरुले गाउँमा हेरेर यस्तो कुरा गरेछन् । पछि मेरो भाइले मलाई सुनायो, हामी हाँसेका थियौँ ।

झापाको गरामणि गाविसमा जन्मेकी हुँ, अहिले त नगरपालिका भइसकेको छ । हाम्रो ठूलो संयुक्त परिवार थियो । हजुरबा–आमा र उहाँहरुका ६ भाइ छोरा र तीन बहिनी छोरी ।
मैले ६ कक्षासम्म अनारमणिको महेन्द्ररत्न मावि पढेँ । अनारमणि र गरामणि नजिकै पर्छ । बुवाआमा परिवारसँग छुट्टिएर सुरुंगा आउनुभयो । सुरुंगा पनि गरामणिदेखि नजिकैपर्छ । अनि, सात कक्षा सुरुंगाको लालपानी माविमा पढेँ ।

त्यसपछि काठमाडौं आएँ, ०४६ सालतिर । लगत्तै नेपाल आदर्श माविमा भर्ना भएँ, गणवहालको । त्यति बेला काठमाडौं आएर पढ्ने चलन पनि थियो । फेरि मेरो मामा, फुपूहरु काठमाडौंमा हुनुहुन्थ्यो । धेरै आफन्त काठमाडौंमा भएकाले पनि काठमाडौं आएँ । एसएलसी आदर्श माविबाटै दिएँ, ०४९ सालमा । त्यसपछि पद्मकन्याबाट इन्टर र ब्याचलर गरेँ । हामी दुई दिदीबहिनी, दुई दाजुभाइ । म जेठी हुँ, कान्छी बहिनी सविता झापामा छे । ठूलो भाइ रुद्र पाण्डे, कान्छो भाइ प्रकाश दुवै झापामै छन् । भाइबहिनी पनि सानोमा त काठमाडौंमै पढ्न आए । पछि झापा नै फर्कन मन गरे ।

हजुरबा–हजुरआमाकी प्यारी
मलाई हजुरबा–हजुरआमाले असाध्यै माया गर्नुहुन्थ्यो । मेरा बुवाआमा परिवारसँग अंशबन्डा गरी छुट्टिने बेला हजुरबा–हजुरआमाले मलाई आफूसँगै राख्न भन्नुभयो । म केही समय हजुरबुवा–हजुरआमासँगै बसेकी थिएँ ।
हाम्रो हजुरबुवाको प्रशस्त जमिन थियो । कोही गाई हेर्ने, कोही घाँसदाउरा गर्ने, कोही हलो जोत्ने, भाँडा माझ्ने गरी हाम्रो घरमा काम गर्ने सहयोगी तीन–चारजना हुनुहुन्थ्यो ।

हाम्रोमा एकजना सानो केटाले बाख्रा हेर्थे । उनी मजत्रै थिए । म कहिलेकाहीँ उनीसँग बाख्रा हेर्न जान्थेँ, तर परिवारले दिनुहुन्नथ्यो, खासगरी हजुरबुवाले ।
म सानै छँदाको कुरा हो, एकपटक धान रोपिसकेपछि बँचेको धानको बिउ घाँसको रुपमा काट्नुपर्ने थियो । म पनि काट्न गएँ । तर, मैले हात काटेँ । हजुरबाले गाली गर्नुभयो । मैले सानोमा काम गर्ने रहर गर्थें तर पाउँदिनँथेँ । जहोस् म सुखैमा हुर्किएँ ।

हजुरबा ०४६ सालतिर खस्नुभयो, त्यतिबेला म काठमाडौं आइसकेकी थिएँ । हजुरबुवा निकै रेडियो सुन्नुहुन्थ्यो । हाम्रो घरमा ल्यादरको कभर भएको नेसनल पानासोनिक रेडियो थियो । हजुरबुवासँग धेरै बस्ने भएकाले मैले पनि रेडियो सुन्न पुगेँ । चार–पाँचमा पढ्दा मैले रेडियोमा आएका समाचारको नक्कल पनि गर्थें । यो सम्झँदा लाग्छ, ममा केही न केही प्रतिभा सानैदेखि थियो ।

मलाई जीवन नै रंगमञ्च जस्तो लाग्छ । हामी उमेरसँगै विभिन्न भूमिका निर्वाह गर्दै जान्छौं, जीवन र मृत्युजस्तो सत्यलाई भुलेर । कर्तव्य, जिम्मेवारी, के–के भन्यो, वास्तवमा हामीले अभिनय गरिरहेका हुन्छौँ । त्यसैले सबैजना भ्रममा बाँचे जस्तो लाग्छ मलाई ।

जानकी र कोदोको रोटी
हाम्रो जग्गा अरुले अधियाँ पनि गर्थें, हाम्रो जग्गामा खेती गरेर उब्जनी हामीलाई आधा दिने । यसरी अधियाँ गर्नेकी छोरी थिइन्, जानकी दास । जानकीले मेरा हजुरबा–हजुरआमालाई ‘मालिक, माल्किन’ भनेको सुन्थेँ । जानकी पनि मजत्रै थिई । हामी सानैदेखिका खास साथी हौँ । हामी हाम्रो ग्वालीको सिलिङमा गएर खेल्थ्यौँ । हाम्रोतिर गोठलाई ग्वाली भनिन्छ । हामीले खानेकुरा लगेर बाँडेर खान्थ्यौँ ।

मधेस भएकाले पनि हामीले सधैँजसो चामलकै भात खान्थ्यौँ । मलाई कोदोको रोटी निकै चाखको कुरा थियो । जीवनमा पहिलोपटक कोदोको रोटी मलाई जानकीले चखाएकी हो । उसले आफ्नो लुगाको खल्तीमा निकै जतनका साथ कोदोको रोटी ल्याएकी थिई । उसले त्यो रोटीलाई आफ्नो खल्तीबाट यसरी झिक्दी, समाउँथी कि त्यो मूल्यवान चिज हो । मैले फेरि उसका लागि भनेर घरबाट चिनी लगिदिन्थेँ । उसले ल्याएका खानेकुरा किन–किन मलाई मीठो लाग्थ्यो ।

त्यस्तै, १२–१३ वर्षकै उमेरमा जानकीको बिहे भयो । बिहेपछि मैले उसलाई एकपटक मात्रै भेटेकी छु । उसको सानैमा बिहे भएको कुराले मेरो कलिलो मस्तिष्कमा पनि केही प्रभाव पारेको थियो । किन उसको सानैमा बिहे भयो ? बिहे कुन उमेर गर्ने हो ? बिहे गर्नलाई कस्तो हुनुपर्छ ? यस्ता प्रश्नले मलाई सताएका थिए ।