साउन १ गतेदेखि वृद्धभत्ता बढाउने : प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ चैत ।

सरकारले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरेको छ । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ नै, उनले भने,कसैलाई आपत्ति लाग्ला । साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने छ । यो सुनेर साँझदेखि कतिलाई निन्द्रा नलाग्ला ।

ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री गाडी संचालनमा

ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरे ।

सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराए ।

स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने बताए ।

त्यस सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले २० लाख, केन्द्र ललितपुरले रु तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले रु १६ लाख ७५ हजार रकम खर्च गरेका ललितपुर महानगरले जनाएको छ ।