एमाले पार्टीले निलम्बन गरे पछि यसरी रोए माधवकुमार नेपाल !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ चैत ।

नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीवाट निलम्बन गरेको छ । पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको हो। पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ।

नेता नेपाल र रावललाई पार्टीबाट निलम्बन गरिएको पत्र समेत पठाइसकेको जनाइएको छ। नेपाललाई पठाइएको पाँच बुँदे पत्रमा उल्लेखित मिति भने फागुन १६ को राखिएको छ। यद्यपि चैत १२ को स्पष्टीकरणको प्रसंग उल्लेख छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण सोधेर विधि, पद्धती र प्रक्रिया पूरा गरेर नै वरिष्ठ नेता माधव कुमार नेपाल र डा। भीम बहादुर रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको स्पष्ट पारेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेको निर्णय उल्लेख गर्दै थापाले यस्तो बताएका हुन् । उनले नेता नेपाल रुँदै गरेको तस्विर सार्वजनिक गर्दै भनेका छन्,”स्पष्टीकरण सोधि विधि, पद्धती र प्रक्रिया पूरा गरेर यो कार्य गरिएको हो । जबकि, प्रचण्ड नेपालले स्पष्टीकरण नै नसोधी कंगारु कोर्टले जस्तै हामीलाई कथित लिनम्बन गरेका थिए ।”

नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन्। नेकपा एमाले अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दाबीसमेत गरेका छन्। अध्यक्ष ओलीले नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन्।

ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन। यस बारेमा मलाई जानकारी पनि छैन’ नेता नेपालले भने,‘ओली एमालेको अध्यक्ष नै होइनन्।’ ओली अहिले सिंगो पार्टीको नभइ गुटको अध्यक्ष भएको भन्दै नेपालले ओलीले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने दाबी गरे। केन्द्रीय कमिटी नै विघटन गरेका व्यक्तिले कारबाहीको हल्ला फैलाउनुको कुनै अर्थ नहुने उनको भनाई छ।

गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने भएकाले कारबाही वा निलम्बनको कुनै अर्थ नहुने नेपालले लेखेका छन्। अध्यक्ष ओलीले नेता नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेका थिए।