काठमाडौं, १७ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेपछि दुवै नेताले आफूहरूलाई कारबाही स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन् । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सोमबार दुवै नेतालाई पत्रमार्फत पार्टीबाट निलम्बन गरेको जानकारी गराएका थिए ।
एमालेको नाममा पार्टी विरोधी र गुटगत क्रियाकलाप गरेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको पत्रमा उल्लेख गरिएको छ । निलम्बन सच्चिने अन्तिम अवसर दिइएकोमा उल्टै पार्टी अध्यक्ष ओलीलाई स्पष्टीकरण सोधेका कारण कारबाहीको निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
गएको चैत ७ गते भएको पार्टी केन्द्रीय कमिटिको बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको लगायतका आरोप लगाएर नेता नेपाल र रावलका साथै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधिएको थियो । नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग पुनः स्पष्टिकरण मागिएको छ । यसअघि मागिएको स्पष्टिकरणको जवाफ नदिएपछि भुसाल र पाण्डेलाई पुनःस्पष्टिकरण मागिएको हो ।
नेताद्वयले आजै पुनःस्पष्टीकरण पेश गर्ने भएका छन् । नेता नेपालले आफूलाई निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णय असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । पार्टीभित्रै रहेर समानान्तर संरचना बनाउँदै ओलीको प्रतिवाद गर्ने उनको भनाइ छ । यो कामको सुरुवात पनि भइसकेको छ । केही जिल्लाहरुमा नेपाल-खनाल पक्षले समानान्तर समिति निर्माण गरिसकेका छन् । यो क्रमलाई अझै तिव्रता दिने बताइएको छ ।
अन्ततः ओलीको कारबाहीको अस्त्रले एमालेलाई वैधानिकरुपमै फुटाउने चरणमा प्रवेश गराएको छ ।