मेलम्ची पानी काठमाडाैंका घर-घरमा, कहाँ कहाँ हुदैं वितरण ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ चैत्र ।

पहिलो पटक उपत्यकामाआइतबारबाट मेलम्चीको पानी वितरण गरिँदै छ । पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट वितरण गरिनेछ । सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने छ ।

आज र भोली दैनिक ४ करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ । उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सिमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ ।

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना २ आयोजना निर्देशनालयले जनाएको छ ।

बीडीएसले एकैचोटी १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । ‘चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेका छौं । सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेछौं’, उनले भने, ‘चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गर्ने छौं ।