सरकारलाई दिएको समर्थन फिर्ता नलिन प्रचण्डलाई कसले दियो दबाब?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ चैत्र ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार नागरिक समाजले राखेको अन्तक्रिया कार्यक्रममा ‘अनौठो’ कुरा राखे। आफूलाई केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिइएको उनको भनाइ थियो।

सरकारलाई दिएको समर्थन फिर्ताका सम्बन्धमा माओवादी पार्टीभित्र र बाहिरबाट अनेक आशंका उत्पन्न भइरहेका बेला प्रचण्डको अभिव्यक्तिले राजनीतिक तरंग सिर्जना गरेको छ।

उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरूले आफूलाई हत्त न पत्त समर्थन फिर्ता नलिन जबर्जस्त दबाब दिएको पनि खुलाए। ‘समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ भन्नेछ’, प्रचण्डले भने, ‘मैले भनिराखेको छु- नैतिक र राजनीतिक ढंगले म अब धैरै दिन पर्खिन सक्दिनँ। मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई मैले समर्थन गर्न सक्दिनँ। चाहे राजनीति जतासुकै जाओस्। मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्दछ। म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु।’

प्रचण्डले समर्थन फिर्ता लिनुअघि आफ्नो प्रयत्न परिवर्तित परिस्थितिमा प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गएका प्रमुख राजनीतिक दलहरूका बीचमा अबका निकासबारे एउटा न्यूनतम समझदारी र सहकार्य होस् भन्ने चाहेको बताए।

अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मैले दाह्रा किटेर मात्रै समर्थनलाई एक/दुई दिन रोकेको मात्रै हो’, उनले भने। सहजकर्ताको भूमिका निर्वाह गरेका राजनीतिक विश्लेषक कृष्ण खनालले कसले दबाब दियो भन्ने प्रश्न राख्दा प्रचण्डले नाम नलिने भन्दै खुलाउन चाहेनन्।

माओवादी केन्द्रको यसअघि बसेको स्थायी कमिटी र केन्दीय कमिटी बैठकले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। तर, माओवादीले सत्ताधारी पार्टीको रुपमा अहिलेसम्म सरकारलाई समर्थन दिइराखेको छ।

केही दिनअघि नेपाल लाइभसँगको कुराकानीमा स्थायी कमिटी सदस्य वर्षमान पुनले देश थप अराजकतातिर नजाओस् भनेर जिम्मेवार भएर समर्थन फिर्ता नलिएको बताएका थिए। ‘हामीले समर्थन फिर्ता लिएर लगत्तै सरकार बन्ने स्थिति छैन। ओली विरुद्धको सरकार बन्ने पिक्चर नआउँदासम्म समर्थन गरीराख्ने भन्ने थियो’ पुनले भने, ‘तर, माओवादीले लामो समय समर्थन फिर्ता नलिँदा नैतिक संकट पर्ने भएकाले अब लिनैपर्ने अवस्थामा पुगेका छौं।’

तर, माओवादी केन्द्रका अर्का स्थायी कमिटी सदस्य गणेश साहले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने पार्टी कमिटीले निर्णय गरिसकेकाले केही दिनभित्र फिर्ता हुने दाबी गरे। माओवादीलाई समर्थन फिर्ता नलिन स्वदेश/विदेशी शक्तिले दबाब दिएको हुन सक्ने साहले आकलन गरे।

ओली सरकारलाई बचाउनुपर्छ भन्ने शक्तिहरूले प्रचण्डलाई समर्थन नगर्न दबाब दिएको हुन सक्ने उनले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता नलिन कसले दबाब दियो त्यो देखिनेगरी कतै छैन’ साहले नेपाल लाइभसँग भने ‘माधव नेपाल पक्ष वा अन्य कुनै विदेशी शक्ति हुन सक्छ। त्यो शक्ति को हो भन्ने सक्ने अवस्था छैन।

माओवादीमा सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रचण्डलाई नेताहरूले दबाब दिइरहेका छन्। ‘सरकारलाई दिएको समर्थन फिर्ता तत्काल लिनुपर्छ भन्ने पार्टीभित्र निकै ठूलो दबाब छ। माओवादीले अझै फिर्ता लिन प्रक्रिया चालेको छैन’ साहले भने, ‘राजनीतिक अवस्था यस्तै रहेमा सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ।’

सोमबार पुनरावलोकनका लागि अदालत जान सक्ने
माओवादी केन्द्रले गएको फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा असहमति जनाउँदै सोमबार पुनरावलोकनका लागि जाने तयारी गरेको छ। अदालतले ऋषिराम कट्टेल नेतत्वको नेकपालाई वैधानिकता दिई एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि माओवादी पुनरावलोकनमा जाने तयारी गरेको हो।

अदालतको फैसलालाई लिएर माधवकुमार नेपाल र प्रचण्ड पक्षले लामो समय कानुनी परामर्श समेत गरेका थिए। प्रचण्ड-माधव पक्षले लामो समय कानुनी परामर्श गरेपछि पुनरावलोकनमा जाने निष्कर्षमा पुगेका हुन।

सोमबार विहान माओवादी केन्द्रका नेताहरूसहित कानुन विदहरूसँग पुनरावलोकनका लागि सर्वोच्च अदालत जाने तयारी गरेका छन्।