रेशमलाई छोड्ने भाषण प्रचण्डले गर्नुभएको थियो, मैले छोड्छु भनेर कतै बोलेको छु र ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) सांसद रेशम चौधरीलाई छाड्ने सरकारको कुनै तयारी नरहेको बताएका छन् ।

लोकान्तर डटकमलाई विशेष अन्तर्वार्ता दिँदै ओलीले अदालतको आदेशले जेलमा रहेको व्यक्तिलाई छोड्ने विषय मन्त्रिपरिषद्को अधिकारभित्र नपर्ने स्पष्ट पारे ।
सरकार कानूनी राजमा विश्वास गर्छ । मन्त्रिपरिषद्ले रेशमका सम्बन्धमा फैसला गर्ने होइन । फैसला अदालतले गर्छ,’ प्रधानमन्त्री ओलीले लोकान्तर डटकमसँगको करीब डेढ घण्टा लामो विशेष अन्तर्वार्तामा भने, ‘रेशमलाई छोड्ने भाषण त प्रचण्डले गर्नुभएको थियो । मैले आजका मितिसम्म छोड्छु भनेर कतै बोलेको छु र ?

प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटा सेटिङमा लागेको गम्भीर आरोप लगाएका छन् । उनले सभामुख सापकोटाले तटस्थ भूमिका निर्वाह नगरेको बताएका हुन् ।

‘सभामुख सेटिङमा हुनुहुन्छ । पुनःस्थापित संसदको शुरूकै दिनदेखि सभामुखले सेटिङमा लागेर काम गरेको देखियो । भेट्न मसँग समय माग्नुभएको छैन । मागे भेट् त दिउँला,’ उनले भने ।

प्रधानमन्त्री ओलीले परिस्थितिले फेरि संसद् विघटन हुन पनि सक्ने स्पष्ट संकेत गरेका छन् । ‘संविधानमा फेरि विघटन हुनसक्ने स्पष्ट व्यवस्था छ । सेटिङमा भएका सभामुखबाट संसदले निष्पक्ष र प्रभावकारी काम गरोस् भन्ने मेरो कामना छ । तर परिस्थितिले फेरि विघटन गर्नुपर्‍यो भने म के गरूँ त ?’ उनले भने ।
प्रधानमन्त्री ओलीसँगको विस्तृत भिडियो अन्तर्वार्ता आज राति ९ बजे लोकान्तर डटकमको फेसबूक, होमपेज र यूट्युबबाट एकैसाथ हेर्न सकिनेछ ।