ज्योति लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ चैत्र ।

ज्योति लाइफ इन्सुरेन्सले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट गरेको हो ।
गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ । कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो ।

जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो । यस्तै, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो ।

आईपीओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आईपीओ कूल ६ दिन बिक्री खुला रहेको थियो । आईपीओको नतिजा मेरोशेयर, सिडिएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।