काठमाडौं, १३ चैत ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले संसदीय दलको बैठक जारी छ । बैठकमा सहभागी हुन पुगेका पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल बैठकबाट बाहिरिएका छन् ।
नेता खनालले आफ्ना धारणाहरु राखेर बैठकबाट बाहिरिएका हुन् । बैठकमा नेता खनालले पार्टीलाई एकढिक्का बनाएर लैजान पहलकदमी भूमिकामा रहेर काम गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएको स्रोतले बताएको छ ।
साथै खनालले पार्टी अध्यक्ष ओलीले एमाले पूर्ववत् रुपमा फर्किसकेपछि आफूखुसी निर्णय गरेको भन्दै त्यसलाई खारेज गर्न समेत माग राखेका छन् ।
यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो । आजको बैठकले संसदीय दलको बैठकमा उपस्थित हुने निर्णय गरेको थियो । यद्यपी वरिष्ठ नेता नेपाल भने उक्त बैठकमा सहभागी भएका छैनन् ।
सभापतिमा देउवालाई म बाहेक कसैले हराउन सक्दैन : शशांक
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा आफूले मात्रै शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दावी गरेका छन् ।
‘न शेखरदा, न रामचन्द्रजी, न त प्रकाशमान शेरबहादुरसँग सभापतिमा लड्नसक्नुहुन्छ । मैले मात्रै देउवालाई हराउन सक्छु, नेता कोइरालाले भने ।
लहानस्थित क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटको क्रममा अहिलेको पार्टी नेतृत्वमा परिवर्तन ल्याउनुपर्ने उनले बताए ।
पार्टी राम्रो बनाउने चाहना रहेको तर पार्टीको अवस्था खस्किँदै गएको आफु टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताएका छन् ।
मेरो बुबाले बनाएको पार्टीलाई यो अवस्थामा आफुले हेर्न सक्दिन । टुलुटुलु हेरेर बस्दिन । नेतृत्व परिवर्तन गर्नुपर्छ । परिवर्तन गर्न को उठ्ने ? मैले यसो बिचार गरेँ सबैलाई हेरेँ । मेरो यो राजनीतिक बाध्यता सभापतिमा उठ्ने । मलाई कुनै इच्छा छैन’ उनले भने ।
आफू नउठे शेरबहादुर देउवाले फेरि जित्ने भएकाले आफू उठ्नै पर्ने बाध्यता रहेको उनको धारणा थियो ।
कोइरालाले अघि भनेका छन्, ‘बुबाले बनाएको पार्टी सबभन्दा राम्रो हुनुपर्छ भन्ने चाहना हो । यसको इतिहास राम्रो बिचार अत्यन्त बलियो छ । समाजवादी बिचार हामीले बोकेका छौँ । जनतासँग जानलाई हाम्रो बिचारले प्रशस्त ठाउँ दिएको छ । भारतमा कांग्रेस आई विलय भइसकेको जस्तो नेपाली कांग्रेस यहाँबाट विलय नहोस् त्यसैले हामीले नेतृत्वमा परिवर्तन गर्नुपर्छ ।’
आउँदो महाधिवेशनमा सभापतिका लागि कार्यकर्तासँग सहयोग मागे । उनी आफू उम्मेदवारी दिने जानकारी गराएका थिए । आफ्नो नेतृत्वमा सरकार बने देशमा परिवर्तन ल्याउने उनले सुनाए । जसको लागि कृषिमा अत्यधिक लगानी गरेर विदेश गएका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने योजना रहेको कोइरालाले बताएका छन् ।