यस्तो रैछ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण हुनुको कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ चैत ।

काठमाडौं उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाडौंका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिए । अहिले सिमराको एक्यूआई दुई सय ६० पुगेको छ । प्रि-मनसुनको समयमा औसतभन्दा निकै कम पानी पर्नु तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदूषण बढेको प्रवक्ता जोशीले बताए ।

उनका अनुसार केही दिनयता काठमाडौं, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनगर, सिमरा, जनकपुर, धनगढीलगायतका ठाउँमा हावाको प्रदूषण बढेको छ । शुक्रबार उपत्यकामा बाक्लो तुवाँलो पनि देखिएकोले समस्या थपिएको भन्दै जोशीले सकभर घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

शनिबार र आइतबार सार्वजनिक बिदा रहेकाले वायु प्रदूषण केही घट्ने अपेक्षा गरेको र पर्सीसम्म नघटेमा वायु प्रदूषणबारेको चेतावनीसहित विज्ञप्ति निकाल्ने उनले बताए । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा नचले समस्या अझै बढ्ने जोशीको भनाइ छ ।

यद्यपि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । तराईसहित विभिन्न ठाउँका जङ्गलमा लागेको डढेलोको धुवाँ हावामा मिसिँदा वायु प्रदूषण बढेको उनले बताए । काठमाडौं कचौरा आकारको भएकाले हावा बाहिर बहने ठाउँ नभएकाले धुम्मिएको उनको भनाइ छ ।

यसैबीच काठमाडौंको आकाशमा तुवाँलो लागेर भिजिविलिटी कम भएपछि हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य दुवैतर्फको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाडौंको आकाशको भिजिविलिटी १ हजार मिटर रहेको छ । १५ सय मिटरभन्दा कम भिजिविलिटी भएमा हवाई उडान प्रभावित हुन्छ । कतिपय विमान आकाशमै होल्ड भएका छन् । मौसम सुध्रने अवस्था नभएपछि कतिपय जहाज डाइभर्ट गरिएको छ ।