काठमाडौं, १३ चैत्र ।
कोरोना संक्रमणका कारण झापामा एक महिलाको मृत्यु भएको छ । सात दिनअघि भारतबाट फर्किएकी ३९ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । ‘उहाँ भारतबाट केही दिनअघि फर्कनु भएको रहेछ,’ जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले भने, ‘कोरोना संक्रमण भएपछि बीएण्डसी अस्पतालमा उपचार हुँदै थियो, आज मृत्यु भयो ।’ मृतक महिलामा कुनै दीर्घरोगको समस्या नरहेको उनले बताए ।
ओलीले नेपाल लगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।
ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए ।
त्यसपछि दुईवटा बैठकले विधान संशोधन नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका थिए ।
नेपाल समूहले समानान्तर कमिटी गठन गरी ओली समूहलाई चुनौती दिने र अन्तरसंघर्ष गर्ने नीति लिइरहेका बेला ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका थिए । उनी यतिबेला नेपाल लगायतका नेताहरुलाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा छन् । आजको नागरिक दैनिकमा समाचार छ ।