काठमाडौं, १३ चैत्र ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, वाट्स एपमा ह्याक गर्ने क्रम दिनहु बढ्दै गइरहेको छ । कलाकारहरुको पनि ह्याकरले एकाउण्ट ह्याक गरेर रकम माग्ने गरेका छन् ।
कलाकारहरु दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार दयाराम पोण्डेको फेसबुक एकाउन्ट ह्याक भएको छ । बिहीबार काठमाडौं उपत्यकाका अपराध अनुसन्धानमा फेसबुक फिरौतीको माग गर्दै कलाकारहरुले निवेदन दिएका हुन् ।
निर्देशक तथा कलाकार दीपाश्रीले फेसबुकबाट ह्याकरले एकजनालाई एक लाख माग्दै बैंक खाता समेत पठाएको बताइन् । त्यस्तै, अभिनेता सरोज खनालको फेसबुकबाट पनि ह्याकरले विभिन्न व्यक्तिहरुसँग च्याटमा कुरा गरेर पैसा मागेको बताए । पत्रकार दयाराम पाण्डेले पनि आफ्नो फेसबु्कबाट बिभिन्न बहानामा ह्याकरले पैसा मागेको जानकारी दिएका छन् ।
जिल्ला तहमा जसपा नेपालको समायोजन प्रकृया स्थगित, केन्द्रबाटै टुङ्गो लगाउने तयारी
जनता समाजवादी पार्टी (जसपा) नेपालमा आन्तरिक विवादका कारण पार्टीको समायोजन प्रकृया प्रभावित भएको छ । जिल्ला तहमा समायोजन गर्दा ठाउँठाउँमा विवाद बढेर समानान्तर कमिटी गठन हुन थालेपछि समायोजन प्रकृया प्रभावित भएको हो ।
तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर जसपा नेपाल बनेको हो । पार्टी एकता भएको ११ महिनासम्म पनि समायोजन प्रक्रिया सम्पन्न हुन नसक्दा पार्टीको संगठन निर्माण तथा विस्तार प्रक्रिया नै ओझेलमा पर्दै आएको छ ।
अब केन्द्रीय तहबाटै जिल्लाको पनि समायोजन टुङ्ग्याउने तयारी भइरहेको छ । यसका लागि जिल्लाबाट साविकका दुवै पार्टीका अध्यक्षसहितका नामावली संकलन गरेर केन्द्रबाटै समायोजन प्रकृया टुङ्गो लगाउने तयारी भइरहेको छ ।
जसपा नेपालका कार्यकारिणी सदस्य रेणु यादवले जिल्ला, प्रदेश तथा स्थानीय तहमा समायोजनको प्रकृया टुङ्गो लगाउन सर्कुलर गरे पनि अपेक्षा अनुसार काम नभएको बताइन् । कतिपय ठाउँमा समायोजन टुङ्गो लागे पनि कतिपय ठाउँमा विवाद देखिएको उनको भनाइ छ ।
साविकको राजपा नेपालको प्रत्येक कमिटी तथा तहमा ६ जना अध्यक्ष भएका कारण समायोजन प्रकृया टुङ्गो लगाउन समस्या भएको कार्यकारिणी सदस्य यादवले बताइन् । उनले भनिन्, ‘जिल्ला तथा अन्य कमिटीमा साविकको समाजवादी पार्टीको एउटा अध्यक्ष छ तर राजपा नेपालको ६ जना अध्यक्ष छन्, त्यहाँ एकीकृत पार्टीको अध्यक्ष कसलाई बनाउने भन्ने समस्या अधिकांश ठाउँमा देखिएको छ ।’
गत वैशाख १० गते तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भइ जसपा नेपाल गठन हुँदा तीन महिनाभित्र समायोजन टुङ्गो लगाउने निर्णय भएको थियो । तर अहिलेसम्म समायोजन प्रक्रिया टुङ्गिन सकेको छैन । केही जिल्लामा समायोजन प्रकृया सुरु गरिए पनि सत्ता साझेदारीका विषयमा पार्टीभित्र देखिएको मनमुटावका कारण पछिल्लो समय समायोजनसम्बन्धी काम स्थगित भएको छ ।
६ दल मिलेर बनेको राजपा नेपालभित्रै पनि समायोजन प्रक्रिया पूरा नभई समाजवादी पार्टीसँग एकता भएका कारण समायोजनमा अलमल देखिएको छ । साविक राजपा नेपालले आफ्नो पार्टीभित्रको समायोजन प्रकृया टुङ्गो लगाउन जितेन्द्र सोनलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
राजपा नेपालको जिल्ला कमिटीमा ६–६ जना अध्यक्ष थिए । अन्य कतिपय भ्रातृ संगठनमा पनि त्यही अवस्था छ । त्यसलाई टुङ्गो लगाएरमात्र समायोजन प्रकृया अगाडि बढाइने पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले बताए । ‘होलीअघि पूर्वराजपा नेपालभित्रको सबै काम सकिन्छ र होलीपछि जसपा नेपालको समायोजन प्रकृया अगाडि बढ्छ,’ उनले भने ।
प्रदेश १ मा पहाडी जिल्लाबाहेक मधेसका सबै जिल्लामा समायोजनलाई लिएर विवाद छ । मोरङ, सुनसरी, सिरहालगायतका जिल्लामा पूर्व समाजवादी पार्टी र पूर्व राजपा नेपालका समानान्तर कमिटी गठन भएका छन् ।
कार्यकारिणी सदस्य सन्तोष मेहताले भने, ‘समाजवादी पार्टी नेपालका नेताहरुले मनपरी ढङ्गले समायोजनको प्रकृया अगाडि बढाएका कारण समायोजन प्रकृयामा समस्या देखिएको छ । समायोजनका लागि केन्द्रले खटाएको व्यक्तिलाई बेवास्ता गर्दै समाजवादी पार्टीले आआफ्ना मान्छे राखेर ठाउँ ठाउँमा कमिटी बनाइरहेका छन् ।
एकपक्षीय रुपमा समायोजनका काम अघि बढाउन थालेपछि आफूहरुले अस्वीकार गरेको उनको भनाइ छ ।