प्रधानमन्त्री ओलीलाई १८ करोड दुरुपयोग गर्न खोजेको आरोप !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ चैत ।

नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् ।

महासचिव ईश्वर पोखरेलले ७ चैतको निर्णयअनुसार सोधेको स्पष्टीकरणमा रावलमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप समेत लगाइएको थियो ।

रावलले बिहीबार अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको जवाफमा त्यसको खण्डन गरेका छन् । साविकको नेकपामा अध्यक्ष ओलीले विधान विपरीत केन्द्रीय र मातहतका कमिटीहरु बनाएपछि पार्टी हितको सुरक्षाका लागि स्थायी र केन्द्रीय कमिटीको निर्णय अनुरुप सुदूरपश्चित कमिटीका सचिव र कार्यालय सचिवले पार्टीको कोषमा सुरक्षित गरेको उनको दाबी छ ।

जनमानसमा भ्रम छर्न आफूमाथि झुटो आरोप लगाएको भन्दै नेता रावलले स्पष्टीकरणको जवाफमा भनेका छन्, ‘तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड रुपैयाँ भन्दा बढी रकमको दुरुपयोग गर्न आफू सहज तुल्याउने अभ्यास गर्नु भएको मात्र हो कि नभन्ने ?’

सयौँ विद्यार्थी बिरामीः विद्यालय बन्द

नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताउनुभयो ।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिनुभयो । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा गुरुङले जानकारी दिनुभयो । यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताउनुभयो ।

सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताउनुभयो । विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताउनुभयो ।