काठमाडौं, १२ चैत्र ।
एमाले वरिष्ठ नेता माधवकमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि प्रश्नसहितको स्पष्टीकरण दिने तयारी गरेको छ ।
जवाफको रुपमा पार्टी अध्यक्ष केपी ओलीबाट भए गरेका काम कारबाही, केन्द्रिय कमिटिको पछिल्लो निर्णय र त्यसको बैधानिक हैसियतमाथि प्रश्न उठाईने नेपाल पक्षीय नेताहरुले बताएका छन् ।स्पष्टीकरणको विषयमा धारणा बनाउन हिजो दिनभर छलफलमा जुटेका नेपाल पक्षका नेताहरु निर्णयमा भने पुग्न सकेनन् ।ओलीलाई अलग अलग या संयुक्तरुपमा जबाफ दिने भन्नेबारे उनीहरुबीच सहमति जुटेको छैन ।ओलीले महासचिव ईश्वर पोखरेलमार्फत नेकपामा रहँदा र एमालेमा आएपछिका गतिविधिलाई आधार बनाउँदै पार्टी विधान उल्लंघन गरेको आरोपसहित नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई केही साझा र केही अलगअलग प्रश्नसहित स्पष्टीकरण पत्र पठाएका छन् ।
पत्रमा उनीहरुलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको मतियार भएकोदेखि ओलीविरुद्ध षड्यन्त्र गरेको र पार्टी विभाजनका लागि गतिविधि गरेको आरोप लगाइएको छ । तीन दिने स्पष्टीकरणको म्याद हिजो सकिए पनि आज थप छलफल गरेपछि जवाफ दिने नेपाल पक्षको तयारी छ ।