किन बढ्यो फेरी पेट्रोलको भाउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ चैत्र ।

इन्धनको भाउ हरेक दुई सातामा बढ्न थालेपछि सबैलाई महंगीको त्रासले छोएको छ । चालु आर्थिक वर्षको आठ महिनामा १० पटक बढेको पेट्रोल,डिजेल र मट्टितलको भाउ अझै बढ्ने संकेत छ ।

अन्तर्राष्ट्रिय बजारमा अझै यो क्रम धेरै महिनासम्म देखिने अर्थविद्हरूले बताएका छन् । डिजेल,पेट्रोल र हवाई इन्धनको भाउले दैनिक उपभोग्य सामाग्रीको भाउ समेत बढ्छ । तर, नेपाल आयल निगमले भने मुलुकमा इन्धनको मूल्य छिमेकी भारत र अन्य देशको तुलनामा अझै निकै सस्तो रहेको दाबी गरेको छ ।
नेपाल–भारत सीमाको ‘बोर्डर डिफरेन्स प्राइस’ भन्दै निगमले भारतमाभन्दा नेपालमा पेट्रोल ३९ रुपैयाँ र डिजेल ३८ रुपैयाँ सस्तो रहेको दाबी गरेको छ । गतसाता इन्धनमा भाउ बढाएपछि पनि निगमलाई अझै पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा र डिजेलमा ५ रुपैयाँ ८७ पैसा घाटा रहेको बताइन्छ । उसले भनेको छ ‘नेपाल आयल निगमले भारतीय आयल निगमसँग प्रतिलिटर पेट्रोल ६० रुपैयाँ ७२ पैसा र डिजेल ६० रुपैयाँ १० पैसा तिरेर किनेको छ । त्यसमा क्रमशः ५५ रुपैयाँ ४८ पैसा र ३८ रुपैयाँ १५ पैसा सरकारले तोकेबमोजिमको कर जोडिन्छ ।’

यो हिसाबले पनि निगमलाई हरेक १५ दिन १ अर्ब २७ करोड घाटा छ । मुलुकभर १४ सय वटा पेट्रोल पम्प छन् । हालैमात्र १ हजार वटा पम्पको लाइसेन्स खारेज गरिएको थियो । तिनले वार्षिक २५ लाख किलोलिटर र मासिक २ लाख किलोलिटर तेल बिक्री गर्छन् ।

गत वर्ष चैत,वैशाख,जेठ र असारमा भएको पूर्ण लकडाउनमा पनि नेपालमा पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले मात्र घटेको थियो । लकडाउनपछि निगमले पम्पहरूलाई अघिल्लो महिनामा बिक्री गरिएको पेट्रोलियम पदार्थको परिमाणमा १० प्रतिशतले नबढाउन निर्देशन दिएको छ ।

स्रोत भन्छ, भारतीय बजारकोभन्दा धेरै सस्तो भएकाले पेट्रोलियम पदार्थको चोरी निकासी भइरहेको छ । चोरी रोक्न निगमले सीमा नजिकका नेपाली पेट्रोल पम्पमा भारतीय सवारी साधनलाई बढीमा १ सय लिटर मात्र इन्धन उपलब्ध गराउन निर्देशन दिएको छ ।

तर,विभिन्न बहानामा यताको तेल भरेर उता लैजाने प्रवृत्ति नरोकिएको बताइन्छ ।
यसक्रममा बोर्डरमा नेपालमा भरेर सस्तो इन्धन भारततर्फ लैजाँदै गरेका धेरैवटा भारतीय गाडी पक्रने क्रम बढेको छ । तर त्योभन्दा बढी यताबाट १० लिटर पेट्रोल जर्किनमा बोकेर भारततिर जाने प्रवृत्ति पूर्वदेखि पश्चिमसम्मका नाकामा देखिन थालेको छ ।

त्यसोगर्दा सर्वसाधारणको दिनभरिको गुजारा मज्जाले चल्न थालेपछि सीमानामा पेट्रोलियम पदार्थ बोकेर हिँडेका मानिस मात्र देखिन थालेका हुन् ।