काठमाडौं, १० चैत्र ।
चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका-१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।
मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज (मंगलबार) मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
दाङमा स्कूल बस दुर्घटना हुँदा एकको मृत्यु २२ जना विधार्थी घाइते
दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।