दाङमा स्कूल बस दुर्घटना हुँदा एकको मृत्यु २२ जना विधार्थी घाइते

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० चैत्र ।

दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेशका नेता थापाको निधन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक गिरबहादुर थापा (बिरबल) को निधन भएको छ ।

थापाको उपचारको क्रममा आज (मंगलबार) बिहान ४.०० बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको जनाइएको छ ।

सरल, इमानदार, कर्तव्यनिष्ठ थापा नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका प्रशिक्षण बिभाग प्रमुख र नेपाल मगर संघ ५ नं. प्रदेश समितिका सल्लाहकारसमेत रहेका थिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]