काठमाडौं, ९ चैत्र ।
नेपाल कम्युष्टि पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
सरकारसँग भएको तीन बुँदे सम्झौता अनुसार कारागारमा रहेका बन्दी रिहाइमा ढिलाइ भएपछि महासचिव चन्द प्रधानमन्त्री निवास वालुवाटार पुगेर कुरा राखेका हुन् । भेटमा महासचिव चन्दले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता–कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले जानकारी दिए ।
विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । सहमति लगतै केहि नेता–कार्यकर्तालाई सरकारले तत्कालै रिहाइ गरेको भए पनि अन्यलाई छाड्ने प्रक्रिया सुस्त देखिएको छ ।
सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका नेता चलाउनेले जानकारी दिएका छन् ।