राष्ट्रपति भण्डारी आज बङ्गलादेश जाँदै, यस्तो छ भ्रमण कार्यतालिका

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ चैत्र ।

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि आज बङ्गलादेश जाँदै हुनुहुन्छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान ढाका जान लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ । बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशिधर मिश्रले स्वागत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीलाई त्यहाँकाे ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ ।

आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा मुख्य तीन वटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनका विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका शिलशिलामा छलफल हुने मन्त्री गुरुङले बताउनुभयो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]