काठमाडौं, ८ चैत्र ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अर्को युद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन्। अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा दलित मुक्ति मोर्चाद्वारा आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले यसो भनेका हुन्।
‘अब अर्को लडाइँ लड्नुपर्ने भएको छ, म बाँचुन्जेल लड्छु। जनयुद्ध थाल्दा ४२ वर्षको थिएँ, जनयुद्ध छाड्दा ५२ वर्ष भएको थिएँ’, उनले भने, ‘अब फेरि लड्नु पर्ने भयो। अन्तिम समयसम्म यो लडाइँ लडिरहन्छु। म वातावरणलाई सहज बनाउने सम्भावनालाई नजरअन्दाज गर्दिनँ।’
उनले देशमा ठूलै षड्यन्त्र भइरहेको बताएका छन्। ‘षडयन्त्र निकै ठूलो हुँदैछ। संविधान क्रियाशील हुन नदिने गरी ठूलो षड्यन्त्र भइरहेको छ। म त बाँचुन्जेल लड्ने नै भएँ। प्रतिक्रियावादीले षडयन्त्र सोचेका छन्’, उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिदिएर हामीलाई सडकमा पुर्याइदिए। साँच्चै अधिकार लिने गरी अब अर्को लडाइँ लडिन्छ।’
उनले आफूले जात पनि त्यागिसकेको बताए। ‘प्रचण्ड भनेको जात त्यागेको मान्छे हो। जहाँ दलि महिला आदिवासी पश्चिमेली पुर्वेली सबै मिसिएका छन्’, उनले भने, ‘अहिलेका सबै प्रक्रिया खोस्न प्रधानमन्त्री आइपुगे। गणतन्त्र चाहिँदैन भन्ने मान्छे नै प्रधानमन्त्री बने।’
ओलीले धोका दिन्छ भन्ने थाहा पाउँदा पाउँदै एकता गरेको भन्दै आफूलाई प्रश्न गरिएको उनले बताए। ‘यस्तो भन्ने थाहा पाउँदा पाउँदै केपीसँग किन एकता गर्न गएको भन्छन्। मैले एकता गरेर गल्ती गरेको होइन। कम्युनिष्ट आन्दोलनलाई एकता गर्न खोजेको हो’, उनले भने, ‘मैले आत्मसमर्पण गरेर एकता गरेको होइन। केपीले जालझेल षडयन्त्र गर्न थाले त्यसपछि विद्रोहको झण्डा कसले उठायो? १९ पृष्ठ लामो दस्तावेज कात्तिक २८ मा मैले नै हालेको हो।’