सामाजिक सञ्जालमा देखिने पुरुषको दोहोरो चरित्र

हाम्रो सन्देश संवाददाता

समाजमा यस्ता व्यक्तिको कमी छैन, जो बाहिरी आवरणमा निकै ‘भलादमी’ देखिन्छन्। तिनीहरूको चरित्र सामाजिक सञ्जालमा कुनै महिलाको म्यासेज बक्सभित्र घीनलाग्दो किसिमले प्रक्षेपण भइरहेको हुन्छ, तर, उनीहरूलाई कुनै संकोच लाग्दैन। यो प्रवृत्ति अहिले उदाएको नयाँ समस्या होइन। विभिन्न लेख-आलेखमा यसविरुद्ध प्रशस्तै चर्चा भइरहेका छन्, तर समस्या घट्नुको साटो बढ्दो छ।

संयुक्त परिवारकी मेरी एक साथीले लकडाउन सुरुवातको केही दिनमै आफ्नो दिक्दारी सुनाइन्। आफ्नै दाइसरह सम्मान र सम्बोधन पाउँदै आएको व्यक्तिबाट दिनको दशपटकभन्दा बढी म्यासेज आउने रहेछ। ‘हाइ ! के छ ? ब्रेकफास्ट÷लन्च÷ स्न्याक्स÷ डिनर भयो ? के गर्दै ? नयाँ के छ सुनाऊ ?’ प्रश्न सामान्य। सुरुका म्यासेजको जवाफ फर्काएकी रहिछन्। दाइ भनेर श्रद्धा गरेको व्यक्ति, अनि खेद जनाइहाल्नुपर्ने सवाल पनि नभएकाले जवाफ फर्काउनु ठूलो कुरा भएन।

तर केही दिनमै सम्बोधन र प्रश्नको पछाडि ‘डियर’ थपिएछ। असहज लागे पनि ‘दाइ’ नाताकै कारण जवाफ फर्काएकी रहिछन्। ती ‘दाइ’को आत्मबल बढ्दै गएर हरेक रात आफू बेडमा पुगिसकेको जनाउ दिँदै ‘एकछिन कुरा गरौँ भनेर कुरिराछु, अझै काम सकिएको छैन नानु ?’ मा उक्लेछ। सुन्दा त्यस्तो खेदजनक नलाग्न सक्छ, तर त्यसभित्र लुकेको उनको नियत आफैँ प्रस्टिन्छ। पति, छोराछोरीसहित संयुक्त परिवारमा रहेकी साथीलाई त्यसले दिक्दारीसँगै समस्या पार्ने नै भयो।

यसबारे श्रीमान्ले ख्याल गर्न थालेको उनले बुझिसकेकी थिइन्, तर समझदार भएकैले किचलो गरेका रहेनछन्। कतिको घर–परिवार यस्तै कुराले तहसनहस भएको साथीलाई थाहा छ। उपायका लागि धेरैजसो मोबाइलमा वाइफाई अफ गर्ने विकल्प फुरेछ। सम्पर्क, सम्बन्ध राख्नुपर्ने नातागोता÷साथीसंगी अरु पनि हुन्छन्, कुनै व्यक्तिका कारण नेटबाट विमुख हुने कुरा भएन। तर जतिबेला मोबाइल खोल्यो, ‘दाइ’को म्यासेज आइहाल्ने।

तनाव बढ्दै गएपछि एक दिन उनले भनिन्, ‘तपाईंको म्यासेजका कारण मेरो सुखमय पारिवारिक वातावरण बिग्रन सक्छ। आइन्दा कुनै म्यासेज नपठाउनु होला।’ तर, त्यसलाई मनन गर्नुको साटो आफ्नो नियतमाथि शं’का नगर्न आग्रह गर्दै ती पुरुषले म्यासेज पठाइरहे। अन्ततः साथीले ती पुरुषसँग सञ्जालीय सम्बन्ध टुंग्याएर चयनको श्वास फरिन्।

त’नाव बढ्दै गएपछि एक दिन उनले भनिन्, ‘तपाईंको म्यासेजका कारण मेरो सुखमय पारिवारिक वातावरण बिग्रन सक्छ। आइन्दा कुनै म्यासेज नपठाउनु होला।’ तर, त्यसलाई मनन गर्नुको साटो आफ्नो नियतमाथि शंका नगर्न आग्रह गर्दै ती पुरुषले म्यासेज पठाइरहे।

दोस्रो घटना अझ चोटिलो छ। आफ्नो बाबु हाराहारी उमेरका हाकिम ‘सर’बाट एक युवती सताइएकी रहिछन्। एकाध म्यासेज पहिलेदेखि नै आउने रहेछन्, जब लकडाउन सुरु भयो, म्यासेज पठाउने क्रम बढेछ। हाकिम साबको जवाफ नफर्काउने कुरा भएन। सुरुका सवालमाथि प्रतिउत्तर फर्काइन्। क्रम बाक्लिँदै जाँदा सामान्य सवालमै पनि युवतीले बोझ महसुस गरिसकेकी थिइन्, तर हाकिम भएकै कारण बेवास्ता जनाउन सकेकी रहिनछन्। क्रमशः सवालको सट्टा अ’श्लील जोक आउन थाल्यो। त्रुटिवश आएको हो कि भन्दै सुरुमा चुप रहिन्, अझ आपत्तिजनक दृश्य र जोक आउन रोकिएन।

त्यसपछि दृढतापूर्वक आफूलाई त्यस्ता सामग्री नपठाउन आग्रह गरिन्। आफ्नो गल्तीप्रति प्रायश्चित गर्नुभन्दा हाकिम साबबाट उल्टै ‘यस्ता कुरा अहिलेको जमानामा नर्मल हो नि, डराउनुपर्दैन’ सम्झाउने क्रम चल्यो। त्यसपछि आफ्नो पेसागत चुनौती समेत सामना गर्ने मानसिक तयारीसहित युवतीले हाकिमसँगको सञ्जालीय सम्बन्ध खत्तम गरिदिइन्। मोबाइल नम्बरको म्यासेजबाट मनाउने प्रयास गर्न भने हाकिमले अझै छोडेका रहेनछन्।

यी दुई घटना केवल नमुना मात्र हुन्। प्रायः किशोरी, युवती र महिला द्वैधचरित्रधारी पुरुषका यी र यस्तै व्यवहारले विगतदेखि नै ग्रसित हुँदै आए, भइरहेका छन्। कोरोना उदयपछिको वर्तमान कालखण्डमा यी प्रवृत्ति अझ बढी सलबलाइरहेका छन्। सम्पर्कका मान्छेप्रति चासो राख्नु, खबर बुझ्नु, एकापसमा सार्थक विचार–विमर्श गर्नु जायज मात्र होइन, आवश्यकता नै हो।

यतिबेला भौतिक भेटघाट, विचार र भावनाको आदान–प्रदान शून्यप्रायः छ। घरभित्र थुनिनुपर्दाको अवस्थामा मान्छेहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउन यिनै सञ्जालीय सम्बन्धले खुबै सघाइरहेका छन्, तर कुनियत दर्शाउँदै आजित हुने गरी म्यासेज गर्ने पुरुषका व्यवहारलाई के भन्ने ?

लामो समयको निष्क्रियताले आकुलव्याकुल भइसक्दा समेत घरायसी काममा सिन्को नभाँच्ने पुरुषको समाजमा कमी छैन। अन्य महिलाका हरेक कामकाजमा गहिरो दिलचस्पी राख्ने, त्यसप्रति संवेदनशील हुने पुरुष तिनै देखिए, जो आफ्नी श्रीमती दिनको कति घन्टा खटेर तिनका हरेक चाहना पूरा गरिरहेकी छन्, सो बारेमा समेत बेखबर रहन्छन्। अझ आश्चर्यको कुरा, सोही अनभिज्ञता गर्वपूर्वक अर्की महिलालाई सुनाउन भने उनीहरूलाई धक लागेको हुँदैन। सीप, सिर्जना र क्षमता व्यक्ति अनुसार फरक हुन्छ।

अधिकांश समय निरर्थक बिताइरहेको कुनै पुरुषको तुलनामा हरबखत काममा जोतिनुपर्ने उनकी श्रीमतीभित्र समयको सिर्जनशील उपयोग गर्ने कला हुनसक्छ, तर कामकै चटारोले ती खुबी भित्रभित्रै मरिरहेका हुन्छन्। घरभित्रको काम साझेदारी ठान्ने विवेक भइदिए, अधिकांश पुरुषका कुण्ठा र नकारात्मकता आफैँ दूर हुने थिए, बदलामा सिर्जनशील बन्ने धोको संगालेका श्रीमतीले अवसर पाउने थिए। हरेक घरमा यस्तो रमाइलो तालमेल बन्दा के संसार धसिन्छ र ?

यसले दुवैको समयलाई मनोरञ्जनात्मक र उपलब्धिपूर्ण बनाउँछ नै, एकापसको मायाप्रेमलाई समेत निःशन्देह प्रगाढ गराउँछ, तर भातभान्सा, सरसफाइ आदिको काम सम्हाल्न कतिपय पुरुषलाई आफूभित्रको अभिमानले नदिने रहेछ। तसर्थ, समय बिताउनकै लागि अरु महिलालाई सामाजिक सञ्जालमा हैरान गर्दा रहेछन्।

दुनियाँको नजरमा सरिफ तर महिलाका लागि व्यभिचारी चरित्रका पुरुषका कारण धेरै महिला समस्याग्रस्त छन्। कसैले निरर्थक बिताइरहेको समयलाई अर्को व्यक्तिले अवसरमा परिणत गर्न चाहिरहेको हुन्छ। सबैजना आफूझैँ बेकम्मा र फुर्सदिला ठान्ने त्यस्ता पुरुषको सोचाइ नै गलत ठहर्छ। लकडाउनकै चर्चा गर्दा, व्यावसायिक काम अवरुद्ध भएर पुरुषहरू फुर्सदिला भए, तर महिलाको घरेलु जिम्मेवारी यही बेला धेरै गुणा चुलियो। पेसागत कामलाई भर्चुअल्ली अघि बढाउँदै पारिवारिक दायित्व निर्वाह गर्ने कामकाजी महिला पनि प्रशस्तै छन्।

पेसागत र पारिवारिक दायित्वबीच तालमेल मिलाउन उनीहरूलाई तनाव भइरहेकै हुन्छ। त्यसमाथि थपिने यस्ताखाले खराब चरित्रको सामना सजिलो कुरा हुँदैन। आफ्नो समस्या परिवारमा राख्ने अवस्थामा सबै महिला हुँदैनन्। ‘कस्ता–कस्ता व्यक्तिसँगको संगत हो ?’ शंकाको वज्र महिलाकै टाउकोमा बज्रिन्छ। आफ्नो कमजोरी नहुँदा पनि यस्तै पुरुषको बलमिच्याइँका कारण कतिपय महिला परिवारभित्र प्रतिकूल अवस्था सामना गर्न बाध्य छन्, यस्तै घटनाले सम्बन्ध भत्किएका उदाहरण पनि बाहिर आइरहेकै हुन्छन्।

श्रद्धाजनक व्यक्तिहरूले धरातल बिर्सिंदै देखाएका निम्नस्तरीय हर्कतसम्बन्धी केही दृष्टान्त पंक्तिकारसँग पनि रहेका छन्। तिनले हासिल गरेका प्रसिद्धिका कारण आफ्नो कर्मप्रति अति नै व्यस्त हुन्छन् होला भन्ने ठानिएका स्वनामधन्य पुरुषबाट हरेक दिन बाक्लै सोधीखोजी झेल्नुपरिरहेको हुन्छ। आएका सवालको तत्काल जवाफ नभए ‘अनलाइन भएर नि नो रिप्लाई ?’ झटारो आइहाल्छ। कतिपयले सिधै भिडियो कल गर्छन्, नउठेसम्म गरिरहन्छन्। अन्य कुनै कामले अनलाइन आएको होला भन्ने ख्याल गर्दैनन्।

‘भलादमी’ मानिएका कतिपय परिपक्व पात्रको सोधाइ समेत उस्तै उदेकलाग्दो। सवाल ः चिया÷नास्ता÷खाना÷खाजा भयो त ?

जवाफ: भयो।

सवाल: मलाई खै त ?

जवाफ: खाइरहनुभएकै होला नि ?

सवाल: सधैँभरि एउटै टेस्ट ? फेर्न मन लागिहाल्छ नि, खै बुझेको ?

कुरा खाजा, खानाका तर तिनका नियत भने अर्कैतिर ढल्किसक्ने। समाजमा अरु त्यस्ता ‘लब्ध प्रतिष्ठित’ पनि छन्, जसले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरी बाहिरी ख्याति राम्रै आर्जन गरेका छन्, तर महिलाका सम्बन्धमा तिनका कमजोरी सामाजिक सञ्जालमा पोखिइहाल्छ। तिनीहरूका गलत मनसाय म्यासेजमा झल्कन्छ।

द्वैधचरित्रधारी पुरुषका यी र यस्तै आपत्तिजनक व्यवहार भर्चुअल सम्बन्धको नाममा विगतदेखि जसरी प्रहार हुँदै आएको छ, त्यसप्रति अनिच्छा जाहेर गर्ने महिला चरम मानसिक हिंसामा पुग्ने गर्छन्। प्रहरीमा उजुरी गरेर साइबर अपराधअन्तर्गत उपचार खोज्ने ठाउँ रहे पनि पारिवारिक, सामाजिक लगायत अन्य विभिन्न कारण महिलाहरू त्यसतर्फ अघि बढिहाल्ने हिम्मत देखाउँदैनन्, बेवास्ता गरेरै टार्न खोज्छन्। फेरि पीडकको सामाजिक हैसियतका कारण जुनसुकै समयमा मोल्नुपर्ने खतराले पनि उनीहरूलाई विचलित गराइदिन्छ।

महिलाका यिनै स्वभाव र बाध्यता ‘भलादमी’ पुरुषका लागि गतिलो अवसर बनिरहेको छ। पीडितको दरो प्रतिवाद तथा आवश्यक उपचारात्मक प्रक्रिया अघि नबढ्दासम्म ‘भलादमी’कै आवरणमा त्यस्ता गतिविधि गर्ने छुट ती पुरुषले पाइरहन्छन्। तसर्थ यथास्थितिबाट माथि उठेर पी’डित महिलाले ती प्रवृत्तिविरुद्ध केही हिम्मत गर्ने हो कि ?
उषा थपलियाले नागरीक दैनिकमा लेखेकि छिन!

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]