काठमाडौं, ७ चैत्र ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध बनाउनु भन्दा पार्टीमा बसेर गुटबन्दी गर्नेहरूलाई नछाडिने बताएका छन्।
उनीहरूलाई कारबाही गरिने ओलीले चेतावनी दिए। पार्टी संसदीय दलको बैठकमा पार्टीका अध्यक्ष र महासचिवले गुटगत भेला नगर्न निर्देशन दिँदासमेत भेला गरेर पार्टीलाई फुटाउन खोज्नेहरूमाथि कारबाहीको विकल्प नरहेको बताए।
तर आत्मलोचना र माफी मागेर पार्टीलाई एकताबद्ध बनाउने भनिएको अवस्थामा कारबाही नगर्न सकिने पनि बताएका छन्। बैठकमा आक्रमक बनेका उनले पार्टीभित्र हुने कुनै पनि खालका गुटबन्दीलाई नस्वीकार्ने बताए।
अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न निर्देशन दिँदापनि नेता माधवकुमार नेपाल र झलनाथ पक्षले बुधबार र बिहीबार भेला गरेका थिए।
उक्त भेलाले २०७५ जेठ २ गते पहिलेको पार्टी कमिटीलाई ब्युँताएर तल्लो तहसम्मै गतिविधि गर्ने लगयातका १७ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको थियो।