ओलीले जालझेल ,तिकडम बाहेक अरु केही जानेका छैनन – वामदेव गौतम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ चैत ।

नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा नेता वामदेव गौतम पनि सहभागी भएका छन् ।

यसअघि नेकपा र अहिले एमाले एकताको अभियान चलाइरहेका गौतम धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना भइरहेको महासंघको भेलामा उपस्थित भएका हुन् । गौतम महासंघका अध्यक्षसमेत हुन् । उनले पार्टी एकताका लागि पहल जारी रहने बताएका छन् ।

अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले नेकपामा विवाद हुँदा पनि आफू एकताको पक्षमा उभिएको भन्दै अब पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका हुन् ।

ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमले आरोप लगाए ।

अध्यक्ष ओली र प्रचण्ड दुबैको आलोचना गर्दै नेता गौतमले माओवादी केन्द्रमा नेता भनेकै प्रचण्ड र संगठन भनेकै प्रचण्डको स्थिति रहेको जिकिर गरे ।

गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जानुपर्ने बताए । उनले पार्टीभित्रको विवादको असर पार्टी निकट संगठनहरुमा पर्नु दुखद भएको धारणा पनि राखेका थिए ।

खिल नेपाल किसान महासंघको भेलामा माधव पक्ष निकट सदस्यहरु पनि सहभागी भएका थिए ।