काठमाडौं, ५ चैत ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य प्राध्यापक श्यामसुन्दर शेर्पा नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शेर्पा एमाले प्रवेश गरेका हुन् । शेर्पालाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
माओवादी आन्दोलनको अब औचित्य नरहेको भन्दै शेर्पाले प्रचण्ड फेरि पनि एमालेकै नेतृत्वमा फर्किने दावी गरे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई असफल पार्न र हटाउन प्रचण्डले एमालेभित्र समिकरण बनाउन खोज्दा आफैं झन् कमजोर बनेको आरोप शेर्पाले लगाए । संखुवासभाका शेर्पा २०६४ सालअघि एमालेमै थिए ।
पार्टीभित्रको विवादको जड ओली हो, जसले नक्कली कुरा गर्दै हिड्छन्ः नेता नेपाल
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली रहेको बताएका छन् । बुधबार सानेपामा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीको अंहकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको दाबी गरे ।
ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला जनताको बहुदलीय जनवाद ९जबज०लाई कुनै अडान नलिई हटाएको भए पनि आफूलाई जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उनले बताए । ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न नेता नेपालले आग्रहसमेत गरे ।
उनले भने, ‘जबज सिध्याउने काम गर्नुभयो । तपाईंले समाजवादउन्मुख जनताको जनवाद मान्नुभयो । तर, जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनु भएन । खुसुक्क हटाउनुभयो । अनि, हामीलाई तपाईंले त्यो थोपर्ने काम गर्नुभो । आज तपाईं जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ ।’ नेता नेपालले आफूहरुको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गरे ।