काठमाडौं, २ चैत ।
संसद सचिवालयले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
भोलि दिउँसो १ बजेका लागि बोलाइएकोे बैठकमा कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् ।
बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन पछि संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरी बैठक सकिने सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
सरकारले संसदमा प्रस्तुत गर्न खोजेको संवैधानिक परिषद् सम्बन्धी सहित ७ वटा विधेयकका बारेमा आज बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि भोलिको बैठक शोक प्रस्ताव गरेर सकिने भएको हाे ।
प्रतिनिधि सभा विघटन बदर गरेसँगै १३ दिनभित्र अधिवेशनको बैठक राख्न सर्वोच्चले परमादेश जारी गरे अनुसार फागुन २३ गते संसदको सातौँ अधिवेशनको पहिलो बैठक बसेकाे थियाे । यसपछि २६ गते दोस्रो बैठक बसेको थियो ।