काठमाडौं, २ चैत ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् । सोमबार पार्टीका कार्यालयमा नेकपाको ओली समूहसँग भएको वार्ताको बारेमा नेता नेपालले आफू निकटका नेताहरुलाई बानेश्वरस्थित अर्याल होटेलमा बोलाएर ब्रिफिङ गरेका हुन् ।
सोमबार धुम्बाराहीमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता भएको थियो । एमाले ब्युँतिएपछि विवाद देखापर्दा नेताहरुबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी थिए । उता नेता नेपाल समूहबाट माधवकुमार नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी थिए ।
आजको वार्तामा दुवै पक्ष आ–आफ्ना अडानमा अडिग रहेका छन् । नेपाल पक्षले फागुन २८ गतेको निर्णय खारेज गर्न माग गरेको भए पनि ओली पक्षले सो निर्णय फिर्ता नहुने बताएको थियो । बैठकमा भएको कुराकानीको बारेमा जानकारी गराउनको लागि नेपाल पक्षले आफूक निकटका केन्द्रीय सदस्यहरुलाई अर्याल होटेलमा बोलाएका हुन् ।