प्रधानमन्त्री मेडिकल माफियाका प्रमुख संरक्षक : डा. केसी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ चैत्र ।

सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशनबमोजिम चिकित्सा शिक्षा ऐन र नियमावलीको ठाडो उल्लंघन गरेर मेडिकल कलेजलाई सम्बन्धन दिलाउन गरिएको अनैतिक हर्कतलाई क्षम्य गर्न नसकिने बताउनुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै ‘ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने,राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्दै आउनु नौलो नभएको र आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारीकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षकसमेत उहाँ नै रहेको’ आरोप लगाउनुभएको छ ।

झापास्थित बीएण्डसी मेडिकल कलेजलाई दिन खोजिएको सम्बन्धनवारे उल्लेख गर्दै उहाँले दुर्गा प्रसार्ईंलाई प्रधानमन्त्रीको अर्थ–राजनीतिक साझेदार मध्येका एकको संज्ञा दिनुभएको छ । विज्ञप्तिमा भनिएको छ ‘तिनै व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन ओली मन्त्रीमण्डलका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौ विश्वविद्यालय तथा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायतका नैतिकताहीन स्वार्थी पदाधिकारी तथा अन्य आसेपासेलाई परिचालन गरिएको छ ।’

सरकारले यसअघि केसीसँग गरेका सम्झौतामा सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने भनेको छ । चिकित्सा शिक्षा ऐनअनुसार विसं. २०८० फागुनसम्म हाल सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुग्नैपर्ने व्यवस्था छ । ‘तर, प्रधानमन्त्री ओलीले आफूनिकट माफियाहरुको इशारामा त्यस्तो काम अघि बढेका प्रतिष्ठानहरुको कामसमेत रोकेर राखेको र मेडिकल कलेज खोल्ने सम्झौता भएका कतिपय ठाउँमा कामै शुरु हुन नदिइएको’ केसीको आरोप छ ।

प्रधानमन्त्री ओलीको सत्तारोहण राजनीतिको भ्रष्टीकरण, राजनीतिको भिजिलान्तेकरण र राजनीतिको अपराधीकरणमा भएको केसीले बताउनुभएको छ । ‘राज्य सञ्चालकमा हुनुपर्ने न्यूनतम नैतिकता पनि उनीबाट अपेक्षा गर्नु बेकार छ’ भन्दै केसीले विज्ञप्तिमा लेख्नुभएको छ ‘हालै गरेका संवैधानिक नियुक्ति र त्यसमा आसिन उनका मतियारहरुबाट देशलाई जोगाउनुपर्ने नागरिक दायित्व हामी सबैमा रहेकाले ओलीलाई प्रधानमन्त्रीको पदबाट मुक्त गरी कानुनको कठघरामा ल्याउनुको विकल्प छैन । जन आस्था

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]