काठमाडौं ।
नारायणहिटी दरबारभित्र फिल्म हल पनि रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ । यो ११६ जना मानिसहरु बसेर सिनेमा हेर्न मिल्ने हल भने बिगत झण्डै दुई दशकदेखि बन्द रहेको थियो । तर अब यो फिल्म हल आगामी बैशाखदेखि संचालनमा आउने भएको छ ।
राजारानी बसेर फिल्म हेर्ने गरेको हलमा अब सर्वसाधारणले राजाराजी बस्ने कुर्सीमै बसेर फिल्म हेर्नसक्ने दरबार संग्रहालयका अधिकारीहरुले जानकारी दिएका छन् । दरवारको फिल्महलभित्र उपलब्ध पुराना फिल्म र डकुमेन्ट्री दर्शकहरुले अब हेर्न पाउने भएका छन् ।
यो हलमा तत्कालिन राजपरिवारका सदस्य र आफन्त बाहेक अरुलाई प्रवेश अनुमति थिएन । हाल नारायणहिटी राजदरवार संग्रहालयमा परिणत भएसँगै नागरिकको लागि पनि खुला गर्न लागिएको हो । राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले फिल्म हेर्न पाउने संग्राहलयका अधिकारीहरुले बताएका छन् ।
चलचित्र विकास संस्थानले अहिले हलमा रहेका फिल्मका पुराना रील र प्रोजेक्टरको सफाइ गरिरहेको छ भने, सोफा एवं पर्दामा लागेको धुलो हटाउने काम गरिरहेको समाचार नेपाल प्रेसले लेखेको छ ।
२० वर्षदेखि थन्किएका रीलमा ढुसी लागेपनि चल्ने अवस्थामा रहेको जनाइएको छ । जयनेपाल र काठमाडौंका अन्य हलमा चल्ने फिल्मका रील दरबारमै ल्याएर राजपरिवारले हेर्ने गरेको संस्थानका पूर्वकर्मचारी भरतप्रसाद नेपालले बताए ।
दरबारमा २०५८ सालमा भएको घटना अगाडि राजपरिवारका सदस्यले उक्त हलमा फिल्म हेर्ने गरेको र फिल्म हेर्दा उनीहरुले प्रयोग गर्ने सामाग्री र चु रो ट पनि अहिले दुरुस्तै रहेको सरसफाइमा खटिएका कर्मचारी बताउँछन् ।
स्वदेशी एवं विदेशी पुराना फिल्म, डकुमेन्ट्री र राजपरिवारसँग सम्बन्धित महत्वपूर्ण फिल्मका रील भेटिएको जनाइएको छ । दिवंगत राजा वीरेन्द्र र ऐश्वर्यको विहेको भिडियो पनि त्यहीँ भेटिएको छ ।
दरबार घुम्न आउने आगन्तुक सर्वसाधारणलाई फिल्म देखाइने संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।
नेपाल प्रेसका अनुसार धेरै रील चल्ने अवस्थामा भेटिएको र चलाउन नसकिएका रीलहरु विदेशमा लगेर डिजिटाइजेसन गरिनेछ । संग्रहालयले केही दिनमा दरबारका २० कक्ष अवलोकनका लागि खुलाउने तयारी गरिरहेको छ ।