काठमाडौँ, २९ फागुन ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित हुनेलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले शनिबार राजधानीमा आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रममा माधव नेपाल–झलनाथ खनाल पक्षलाई इंगित गर्दै उनले चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै उनले मञ्चबाटै केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुन माधव–झलनाथ खनाल पक्षलाई आग्रह समेत गरेका छन् ।
‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’ उनले भने ।
उनले आफूले कसैलाई पनि जिम्मेवारीबाट नहटाएको बताउँदै केही साथीहरुलाई काम गर्ने जिम्मेवारी दिइएको स्पष्ट पार्दै आगामी बैठकबाट छलफल गरेरै अघि बढ्ने समेत बताए ।
आफूविरुद्ध प्रचण्ड–नेपाललगायतले माकुराको जालो थापेको बताउँदै उनले ठट्यौली पारामा भने ‘माकुराले थापेको जालोमा भैसी पर्दैन ।’ प्रचण्ड–नेपालले बनाएको जालो नै कमजोर रहेको समेत बताए ।
आफू नेतृत्वको सरकारलाई हटाउने प्रयास भैरहेको भन्दै उनले आफू नेतृत्वको सरकार नरहे पनि अब हुने चुनावबाट फेरि दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताए ।
‘हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाटे मुलगेटबाट फेरि पस्छ । उनको भनाई रहेको छ ।