मलाई माधव नेपाललाई कसरी एमालेमा उद्धार गर्ने भन्ने तनाव छ : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ फागुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको उद्धार कसरी गर्ने भन्ने तनाव आफूलाई रहेको बताएका छन् ।

बुटवलमा शुक्रबार आयोजित कार्यकर्ता भेलामा प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताए । ‘माधवजीहरू फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन् ‘ प्रचण्डले भने, ‘त्यहाँ ठूलै झमेला हुने वाला छ, मलाईचाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ।’

आफूहरूको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउनेबाहेक अरु तनाव नभएको बताए ।

उनले भने, ‘हाम्रो जस्तो सजिलो पार्टी अहिले कुनै छैन। हामीभित्र विदेशी प्रभाव पनि छैन। एउटा दुइटा होला तिनीहरू पनि टाउको उठाउने ठाउँमा छैनन्। अरु सबैभित्र विदेशी छन्। त्यसो भएर टेन्सन अरूलाई छ हामीलाई छैन।’

उनले​ पूर्वएमालेसँग सम्बन्धित नेता–कार्यकर्ताबारे हेडक्वार्टरसँग समन्वय गरेर मात्रै निर्णय गर्न आग्रह गरे। ‘जिल्लाका हाम्रा कुनै पनि गतिविधिले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्,’ उनले भने ।

‘माधवजीसँग नजिक भएका मानिसलाई तानेर हामीभित्र घुसाइहाल्छु भन्ने तिर नलाग्नुहोला’ प्रचण्डले भने, ‘अहिले त्यसो गर्न आवश्यक छैन। माधवजी, झलनाथजीहरूसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँहरूले त्यहाँभित्र गएर संघर्ष गर्ने र फेरि एकताको प्रस्ताव राख्ने र एकतातिर नै जानुपर्छ भन्ने छ।’

उनले अहिले केपी ओली नेतृत्वको सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई फकाउन नजाने बताए । बिग्रेका, भाँचिएका, कुच्चिएकालाई फकाउँछु भन्दा आफ्नो हालत खराब भएको भन्दै प्रचण्डले अब त्यस्तो त्रुटी नदोहोर्याउने बताए ।

‘त्यत्रो बद्मासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ ,गृहमन्त्री रामबहादुर थापा र खानेपानीमन्त्री मणि थापाप्रति लक्षित गर्दै प्रचण्डले भने,’दुई जना मान्छे नभएकालाई स्थायी समिति सदस्य बनाएको त अहिले मन्त्री अब यस्ता मान्छेलाई फकाउन पटक्कै मन छैन। साथीहरू तपाईंले भन्यो भने फर्किने भनेका छन् भन्छन्, तर मलाई फकाउन मन लाग्या छैन । उतै बस भन्या छु, यहाँ आएर फेरि रोए भने पग्लिन्छु कि भन्ने डर छ।