प्रचण्डलाई जसपाको जवाफः हामी सबैलाई सहयोग गर्न मात्रै जन्मिएका हौं र ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २७ फागुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई सहयोग गर्न जनता समाजवादी पार्टी (जसपा)लाई आग्रह गरेका छन्।

बुधबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलमा प्रचण्डले जसपाको सहयोग मागेका हुन्।

जवाफमा जसपा नेता राजेन्द्र महतोले हामी सधै अरूलाई मात्रै सहयोग गर्न जन्मिएका हौं र भन्दै व्यङ्ग्य गरेका थिए।

छलफलपछि बाहिरिएका नेता महतोले भने, ‘प्रचण्डजीले हामीलाई सहयोग गर्नुपर्‍यो भन्नुभयो। हामीले हामी सधैं अरूलाई मात्रै सहयोग गरिरहने, हाम्रा मुद्दा र माग चाहीँ कसैले पुरा नगर्ने । के हामी सहयोग गर्नका लागि मात्रै जन्मिएका हौं र ? भनेर जवाफ दियौं।’

जसपाका वरिष्ठ नेता महतोले रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेश र थारूहट आन्दोलनका मुद्दाहरू फिर्ता, संविधान संशोधन लगायतका सवालमा हामीलाई सहयोग गर्नेलाई आफूहरूको साथ रहने भनि प्रचण्डलाई आश्वस्त पारेका थिए।

उनले आफ्ना मुद्दाका विषयमा पटक पटक केपी ओली समक्ष राखिए पनि ओलीले ठग्ने बाहेक केही काम नगरेको भन्दै यस्तो वातावरणमा कसरी सहयोग गर्ने भनि प्रश्न गरेका थिए। उनले आफ्नो मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्नेसमेत बताए।

‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरि गर्ने ? त्यसैको लागि जन्मिया हामी ? यी शासक, सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ? मागहरु पुरा गरे हुन्छ, नत्र हुँदैन। हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ त्यसप्रति सहानुभूति हुन्छ हाम्रो’, उनले भने, ‘रेशम चौधरी लगायतका मुद्दा फिर्ता, मधेश र थरूहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरु आजको होइन नि, यो त पटक पटक राखेकै हो नि केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त। ठग्ने बाहेक केहि काम गरेको छ केपी ओलीले ? काम गरेर देखाउनुपर्‍यो हामी साथ दिन्छौं।’

उनले सत्ता समिकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको स्पष्ट पारे। आफ्नो मुद्दाहरु सम्बोधन भए सरकार बारे सोच्ने उनको भनाई छ।

यसअघि हिजो र आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो।

दाहालले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन् ।

आजै संसद भवनमा जसपाका नेताहरूले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने बताएका थिए।