माधवलाई प्रधानमन्त्री बनाउन तयार होलान् त ओली !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ फागुन ।

नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले मुलुकको राजनीति नयाँ मोडमा पुगेको छ । एमाले र माओवादी केन्द्रबीच एकता भई गठन भएको नेकपालाई वैधानिकता दिन नमिल्ने सर्वोच्चको फैसलापछि दुवै पार्टी साविकको अवस्थामा पुगेका छन् । सरकारको समेत नेतृत्व गरेको दलमा निम्तिएको यो संकटले सिंगो राजनीति नै संकटमा परेको छ ।

एमाले र माओवादी केन्द्र पुरानै हैसियतमा फ़र्किएपछि त्यसको प्रत्यक्ष प्रभाव संसद र सरकारमा परेको छ । दुई पार्टी पूर्ववत अवस्थामा पुगेपछि संसद्को अंकगणित मात्र बदलिएको छैन दलहरुको हैसियत पनि फेरिएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या तीनबाट चार भएको छ । १२० सिटसहित एमाले पहिलो दल बनेको छ भने,६३ सिट भएको कांग्रेस दोस्रो, ५३ सिट भएको माओवादी केन्द्र तेस्रो र ३४ सिट भएको जनता समाजवादी पार्टी (जसपा) चौथो बनेको छ । संसद्को अंकगणित मात्र फेरिएको छैन,वर्तमान सरकार गठनको आधार पनि भत्किएको छ ।