एमालेमा फर्किन्छौं र ओलीलाई ठीक पार्छौंः नेता खनाल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२५ फागुन ।

प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्चको फैसलापछिको परिस्थितिको विश्लेषण गर्दै अलग अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिएका हुन् ।

उनले अदालतको फैसला कार्यान्वयन गर्ने बताउँदै सँगै यसमा आफुहरुको असहमति रहेको कुरा पनि प्रष्टरुपमा राख्दै जाने बताए । साथै उनले अव पार्टीभित्र रहेर ओली प्रवृतिलाई परास्त गर्दै जाने समेत उल्लेख गरे । यसअघि नेता रघुजी पन्तले पनि सर्वोच्चको फैसलापछि एमाले र मावोवादी केन्द्रको एकताको सम्भावना खोज्नुपर्नेमा जोड दिएको बैठकमा बताएको उल्लेख गरेका थिए ।

प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने ,माधव नेपाल एमालेमै फर्किए

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेसंगै सत्ताधारी नेकपा बिघटन भएको छ । नेकपाभित्र बिबाद भइ अनौपचारिक विभाजन भइ दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो ।

अब नेकपा प्रचण्ड माधव समूहले पनि आ-आफ्नो पूर्व पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेका छन् । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएपछि नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको नेकपा श्रोतले जानकारी दिएको छ । पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने निर्णय समेत भएको छ ।

तर औपचारिक निर्णय आउन भने बाँकी नै छ । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।