देउवा प्रधानमन्त्री बनाउने प्रस्ताव गरी प्रचण्ड माधव र जसपाको संयुक्त भित्री तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , २० फागुन ।

सरकारमा सहभागी हुने विषयमा तत्काल निर्णय नलिने निष्कर्षमा पुगेको नेपाली कांग्रेस सरकारमा जान तयार देखिएको छ। आफ्नो सहभागिता र सक्रियताबिना नयाँ सरकार बन्‍न नसक्‍ने र संक्रमण झन् लम्बिने विश्लेषण गर्दै कांग्रेस सरकारमा जान तयार देखिएको हो।

कांग्रेस नेतृत्वले नेकपाको प्रचण्ड -माधव पक्षसँग निरन्तर वार्ता गरिरहेको छ भने यो समीकरणमा जनता समाजवादी पार्टी (जसपा) पनि सकारात्मक देखिएको छ। अविश्‍वास प्रस्तावबाट ओलीलाई हटाएर देउवाको नेतृत्वको नयाँ सरकार बनाउने सम्बन्धमा कांग्रेस, प्रचण्ड -माधव पक्ष र जसपाबीच एक खालको समझदारी बन्दै गरेको कांग्रेसका एक नेताले बताए। ति नेताले भने, ‘छिटै यसले ठोस् आकार लिनेछ। अधिवेशन बस्‍नुअघि नै सबै कुरा स्पस्ट हुन्छ।’

चितवनमा बुधबार भएको कार्यक्रममा देउवाले आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदा हुने दाबी गरेका थिए। पार्टी संस्थापनइतरका नेताहरु सकभर कांग्रेस सरकारमा जान नहुने पक्षमा छन्। संस्थापनइतरका नेता रामचन्द्र पौडेललाई उनले भने, ‘चिन्ता नलिनुस् रामचन्द्रजी, म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला।’ संस्थापनइतरका नेताहरुलाई ‘कन्भिन्स’ गर्नका लागि पनि देउवाले बिहीबारको बैठक बोलाएको बताइएको छ।

प्रमुख प्रतिपक्षकै भूमिकामा पार्टी केन्द्रित रहेर महाधिवेशनउन्मुख हुनुपर्ने संस्थापनइतरका नेताहरुको विचार छ। प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा रहेका सबै शक्ति एक स्थानमा हुनुपर्नेमा विपक्षी दलहरु एकमत हुँदै गएका छन्। जनता समाजवादीले पनि देउवालाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेको छ।

त्यसैगरी महामन्‍त्री शशांक कोइरालाले पनि प्रचण्ड -माधव पक्षसँग सहकार्य गरेर कांग्रेसले सरकार बनाउनुपर्ने बताएका थिए। ओलीसँगको निकटताका कारण सरकारमा जान हुँदैन भनेर अडान लिइरहेका रामचन्द्र पौडेल पक्ष पनि प्रचण्ड -माधव पक्षसँग सहकार्य गर्नेमा सकारात्मक देखिएको छ । पौडेलले बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्ड -माधव पक्षसँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन्। यो बीचमा देउवा र पौडेल बसेर पटकपटक यसबारेमा छलफल गरेका छन् ।

सरकारको नेतृत्व छोड्नु हुँदैन भन्‍ने निष्कर्षमा दुवै नेता पुगेका छन् । यही विषयमा छलफल गर्न देउवाले बूढानीलकण्ठमा बिहीबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन्। सत्ता समीकरणको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल हुँदैछ ।

फागुन ११ गते सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला सुनाएको भोलिपल्ट नै नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग नयाँ सरकारका लागि सहकार्यका लागि प्रस्ताव पनि राखेका थिए। तर देउवाले नेकपाको आधिकारिताको विवाद टुंगो लागेपछि मात्र कांग्रेसले आफ्नो निर्णय लिने जवाफ दिएका थिए। त्यो भेटमा देउवाकै नेतृत्वमा सरकार निर्माण गर्ने कुरा स्पस्ट रुपमा भनिएको थिएन र मिलेर नयाँ सरकार बनाउँ मात्र भनिएकोले देउवाले स्पस्ट जवाफ दिएका थिएनन्।

तर संसद्‌मा पहिले विचाराधिन अविश्‍वास प्रस्तावमा वैकल्पिक प्रधानमन्‍त्रीका रुपमा प्रचण्डको नाम उल्लेख गरिएकोले पनि देउवा टिम पर्ख र हेर रणनीतिमा थियो। यो बीचमा प्रचण्ड -माधव पक्षले संसदमा पहिले दर्ता भएको अविश्‍वास प्रस्ताव अघि नबढाउने र नयाँ ढंगले अघि बढ्ने निर्णय गरेपछि कांग्रेससँगको संवाद सकारात्मक बन्दै गएको हो। प्रचण्ड -माधव पक्षका नेताले हरेक दिनजसो कांग्रेस र जसपाका नेताहरूसँग विभिन्‍न तहमा संवाद जारी राखेका छन्।

नेकपा विवादको आधिकारिता टुंगो लाग्‍ने लक्षण नदेखेपपछि कांग्रेस आफै अग्रसर भएको हो। नेकपा विवादको आधिकारिता विवाद निर्वाचन आयोगमा अल्झिएको छ। नेकपा आधिकारिताको विवाद न निर्वाचन आयोले टुंगो लगाउने अवस्था छ न त पार्टी फुटाएर अलग्गै दल निर्माण गर्ने कानुनी अनुकुलतामा प्रचण्ड-माधव छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। यतिबेला नेकपाका १७२ सांसद मध्ये आधा आधाको हाराहारीमा विभाजित छन्। प्रचण्ड–नेपाल समूहतिर ८७ र ओली समूहतिर ८३ जना दाबी गरिएको छ र केही तटस्थ छन् । निर्णायक विन्दुमा १० जना यताउती हुन्छन् र बलियो समूह जता उतै जान्छन्।

ओली र प्रचण्ड–नेपाल दुवैलाई १ सय ३८ सांसद पुर्याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य जस्तै देखिएको छ। प्रतिनिधिसभामा ३४ सांसद रहेको जसपा पनि सत्ता समीकरणको निर्णायक भूमिकमा छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]