‘म खुशी साथ हट्छु, तर, २ वर्षपछिको चुनावमा दुई तिहाइका साथ सिंहदरबार फर्कन्छु’:प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।झापाको बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गर्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चेतावनी दिएका हुन्।

नेकपाको प्रचण्ड–माधव समूहले ओली सरकार कम्फर्टेबल नभएको भन्दै केही दिनअघि व्यक्त भएको प्रतिक्रियालाई कटाक्ष गर्दै उनले भने, ‘नेपाली जनताले दुःख पाए पाउन्, तर अर्काका लागि कम्फर्टेबल सरकार होइन, नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो, नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । नेपाली जनताका लागि काम गर्ने, आवास, खानेपानी, बाटो, विद्यालय, बालबालिकालाई पुस्तक दिने सरकार चाहियो ।’ उनले आफू सकारात्मक रुपमा अघि बढ्ने बताए।

अहिले पनि मलाई कसैले सक्छ भने हटायोस्। तर, हटाउन सजिलो छैन’ ओलीले भने, ‘म खुशी साथ हट्छु। तर, २ वर्षपछिको चुनावमा दुई तिहाइका साथ सिंहदरबार फर्कन्छु।’‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।