९ बीमा कम्पनीहरुको ५ अर्ब ६५ करोडको आइपिओ आउँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ फागुन ।

नयाँ बीमा कम्पनीहरुको ५ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । त्यसको लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुटाउँनु पर्नेछ ।

नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा नयाँ निर्जीवन बीमा कम्पनी सञ्चालित छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु , सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नयाँ निर्जीवन बीमा कम्पनी हुन् ।

नयाँ बीमा कम्पनी मध्ये अजोड, सानिमा जनरल , जनरल इन्स्योरेन्स कम्पनी नेपाल र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् भने बाँकी ९ वटा नयाँ बीमा कम्पनीहरुले ५ अर्ब ६५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको छ जसमा सिटिजन लाइफले ७५ करोड , आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड , रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी गर्नेछन् ।

आईपिओ जारी भएपछि जीबन बीमा कम्पनीहरु सानिमा , प्रभु , रिलायवल, आईएमई ,महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड, ज्योति लाईफको २ अर्ब २० करोड , युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड रुपैयाँ पूँजी पुग्नेछ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]