काठमाडौं, १७ फागुन ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै हाम्रो रंगशालामा मेरो कुर्सी नामक अभियानको थालनी गर्दै आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख रुपैया फाउण्डेशनलाई सहयोग गर्नु पर्ने जनाएको छ । फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ । फाउन्डेसनले रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।