काठमाडौं, १६ फागुन ।
बिभाजित नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने स्पष्ट पारेका छन् । उनले सरकार विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्न आतुर रहेकाे बताएका छन् ।
झापाको कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले चन्द नेतृत्वको नेकपाले उठाएका समस्या वार्ताद्वारा समाधान गरिने विश्वास दिलाए । उनले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए ।
हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उनले घोषणा गरे । नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।