प्रचण्ड पुगे वामदेवलाई भेट्न भैसेपाटी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ फागुन ।

न‌ेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ भैसेपाटी पुगेका छन्।

उनी आज विहान ७ बजेर ३० मिनेटमा गौतम निवास भैसेपाटी पुगेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकरी दिए। भेटमा गौतमलाई सहकार्यका लागि प्रचण्डले प्रस्ताव गरेको सुवेदीको भनाइ छ।

गौतमले भने आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएको सुवेदीले थाहाखबरलाई जानकारी दिए। दुई जनाबीच झण्डै एक घण्टा छलफल भएको थियो।

प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै गौतम कुनै पनि गुटमा खुलेका छैनन्। गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपामा दुई गुट सक्रिय छ। प्रचण्ड माधव समूह नयाँ सरकार गठनको कसरतमा रहेको छ। यो गुटका दुई अध्यक्षले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेका थिए। पार्टीमा छलफल गर्ने भन्दै सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्।

त्यस्तै यो समूहले जनता समाजवादी पार्टीसँग पनि सहकार्यका लागि छलफल गर्दै छ।