हेटौंडामा ट्रकले मयुरीलाई ठक्कर दियो , मयुरी चालक श्रेष्ठको मृत्यु

हाम्रो सन्देश संवाददाता

मकवानपुर , १३ फागुन ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ६ बजेतिर मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मयुरी चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारको लागि चुरेहिल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायक उपरीक्षक रानाले बताए ।

उनका अनुसार, मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा रहेको र पोष्टमार्टमको लागि हेटौंडा अस्पताल लैजाने तयारी भइरहेको छ ।

दुर्घटनापश्चात ट्रक चालक फरार रहेका छन् । उनको खोजीकार्य हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]