रवि लामिछाने खोले ‘ग्यालेक्सी फोर के टेलिभिजन’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ फागुन ।

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नयाँ टेलिभिजन ग्यालेक्सी को ओपिनिङ गरिएको छ । सोही कार्यक्रममा टेलिभिजनमा आउने कार्यक्रमहरुबारे जानकारी गराइएको छ ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेका लामिछानेले नयाँ कार्यक्रम ‘कामका कुरा’ सञ्चालनमा ल्याउने भएका हुन् । यस्तै कार्यक्रममार्फत अन्य राजेश हमाल, रमेश प्रसाई, ईन्दिरा जोशी लगायत कलाकारहरु नयाँ कार्यक्रमको घोषणा पनि गरेका छन् ।

अब नयाँ टेलिभिजन ग्यालेक्सी फोके मा ईन्दिरा जोशी र काली बास्कोटाले ‘लिटिल च्याम्पियन’, दिपकराज गिरीले ‘क्रा इम पे ट्रोल नेपाल’, पब्लिक स्पिकर रमेश प्रसाईले ‘लाल मोहर’, राजेश हमालले ‘को बन्छ करोडपति’ लगायतका कार्यक्रम घोषणा गरिएको छ ।