ओली, देउवा र प्रचण्डलाई नख्खु जेलमा थुन्छौँ : रवीन्द्र मिश्रको चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ फागुन ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई नख्खु जेलमा थुन्ने चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले आफूहरु सरकारमा जाने र तीन जना नेताहरुलाई जेलमा पुर्‍याउने बताएका छन् ।

‘विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ । बालुवाटारबाट बालकोट जानु भएका नेतालाई आराम गर्न नख्खु जेल पुर्याउँछौ’, उनले भने, ‘बूढानीलकण्ठबाट बालुवाटार आउने सपना देख्नु भएको होला । हेरौँला । तपाईँ पनि नख्खुमा घाम ताप्न पठाउनेछौँ । उहाँलाई पनि खुमलटारबाट नख्खुमा जानुपर्नेछ ।’

उनले प्रधानमन्त्री ओलीले ‘कू’ गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले निर्णय उल्टाए कसरी हुन्छ चुनाव ? भन्दै प्रश्न गरेका छन्।

‘सबैले सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छन् । केपी ओली सर्वोच्च अदालतले के निर्णय गर्ला भनेर थरथराइरहनुभएको छ । उहाँ किन डराइरहनुभएको छ ?’, उनले सोधे, ‘देशमा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्छ । उहाँ सर्वोच्च अदालतले आफूले चाहेको जस्तो निर्णय गर्देला र म खाउँला भनेर पर्खिरहनुभएको छ।’

उनले देशमा सम्पत्ति शुद्धीकरण, अख्तियार, सर्वोच्च रहेको र यी संस्थालाई स्वतन्त्र रुपमा काम गर्न दिनेबित्तिकै तिनले काम गर्न थाल्ने बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई सीमाभित्र बस्न भनेको सम्झिँदै उनले संविधानको सीमाभित्र बस्न उनलाई चेतावनी दिएका छन् ।

मिश्रले देशमा भ्रष्टाचार बढेकाले थप जेलको संख्या थप गर्नुपर्ने बताएका छन् । उनले भ्रष्टाचारलाई आफुहरुले जेल हाल्ने बताए । ‘प्रधानमन्त्रीका सल्लाहकारले मलाई चेतावनी दिँदै भन्नुभयो, तपाईं सीमामा बसेर बोल्नुहोस् । म उहाँहरुलाई चेतावनी दिँदै भन्छु, तपाईंहरु संविधानको सीमा नमिची बस्नुस् । तपाईंहरु नियम र कानुनको सीमाभित्र बस्नुस्’, मिश्रले भने।