काठमाडौं, १० फागुन ।
नेपाली धिताेपत्र बजारमा ५९ लाख ४० हजार कित्ता साधारण शेयर (आईपीओ) थपिने भएकाे छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हाे । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पाउने अनुमति पाएको हो ।
कम्पनीले साे आईपीओमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि ६ लाख ६० हजार कित्ता छुट्याएको छ भने ५९ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।
शेयर कारोबारका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई जिम्मा दिएको छ ।
राताम्मे बजारमा जलविद्युत् र अन्य समूहको रजाइँ
सोमबार शेयर राताम्मे बनेर बन्द भएको छ । बुललाई पछि पार्दै वियर हाबी हुँदा शेयरमा ३२ अंकले ओरालो लागेका हो । सोमबार नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले घटेर २६०७ अंकमा बन्द हुँदा कारोबारमा आएका २ सय ७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँमा कारोबार भयो ।
पाँच दिनसम्म लगातार हरियो बनेको बजार आज भने करेक्सन माेडमा पुगेको छ । बजार करेक्सन हुँदा पनि जलविद्युत् र अन्य समूहका कम्पनीको शेयरमूल्यमा उछाल आउँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र आँखुखोला जलविद्युत्को शेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्न पुग्यो भने छवटा कम्पनी सर्किट लेबलमा पुगे ।
आज जलविद्युत् समूहकाे सूचक २ दशमलव २६ र अन्य समूहकाे सूचक १ दशमलव २९ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचक घटेर राताम्मे बनेकाे हाे ।
घटेका समूहमा बैंकिङको २ दशमलव ७२, ब्यापारको ३ दशमलव ०२, होटलको १ दशमलव ०२, विकास बैंकको २ दशमलव ३५, फाइनान्सको १ दशमलव १४, निर्जीवन बीमा ० दशमलव ८३, उत्पादन तथा प्रशोधन ० दशमलव ९८, माइक्रोफाइनान्स १ दशमलव २८ र जीवन बीमा १ दशमलव ९४, म्युचुअल फन्ड ० दशमलव २३ प्रतिशतले घटेका छन् ।
कारोबारमा आएका कम्पनीमध्ये ३१ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ३९ कम्पनीको शेयर मूल्य घटेको छ । पाँचवटा कम्पनीको शेयर मूल्य यथावत् नै छ ।