मेलम्चीको पानीलाई काठमाडौं ल्याउन आज परीक्षण गरिंदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० फागुन ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानीलाई काठमाडौं ल्याउन आज परीक्षण गरिंदैछ । मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन आजदेखि सुरुङमा प्रवेश गराएर परीक्षण गर्न लागिएको हो ।

मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मात्रै मेलम्ची खोलाको पानी काठमाडौँ आइपुग्नेछ ।

यो परीक्षण गर्न कम्तिमा दुुई महिना लाग्ने आयोजनाले बताएको छ ।

मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने बताइएको छ । आज विहान ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय भएको छ ।

मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेटं) को जडान र फिनिसिङको काम सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो ।

आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबीं) ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो ।

यसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।

मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ ।